बागमती ३ कुटीभकारीमा टेलिकमको टावर उद्घाटन

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका ३ गडन कुटीभकारीमा नेपाल टेलिकमको टावर औपचारिक उद्घाटन गरिएको छ । बागमती गाउँपालिका र नेपाल टेलिकम मकवानपुरको सहकार्यमा टावर स्थापना गरिएको हो । सोमबार आयोजित कार्यक्रममा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले रिबन काटेर टावरको उद्घाटन गरेका हुन् ।

घलानले विकास र समृद्धिका लागि सबैको मन सफा हुनुपर्ने बताए । ३ नम्बर वडाको गडन क्षेत्रमा सडक र विद्युत् सुविधा पुगेपनि सञ्चार सेवामा भने लामो समयदेखि समस्या रहँदै आएको थियो । सञ्चार सेवा अभावका कारण विपद् व्यवस्थापन, आपतकालीन सेवा तथा सरकारी कामकाजमा समेत स्थानीयले ठूलो सास्ती भोग्दै आएका थिए ।

अब टावर सञ्चालनमा आएपछि गडन, कुटीभकारी र आसपासका बासिन्दाले प्रत्यक्ष रूपमा सञ्चार सेवा सुविधा पाउनेछन् । नेपाल टेलिकम मकवानपुरका प्रमुख रवि मानन्धरले भौगोलिक विकटताका कारण लामो समयसम्म टावर स्थापना गर्न नसकिएको जानकारी दिए । उनले वडा अध्यक्ष कमानसिंह पाख्रिनको निरन्तर पहल र गाउँपालिकाको सक्रियताले टावर स्थापना सम्भव भएको बताए ।

उद्घाटन कार्यक्रममा बागमती गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी, वडा अध्यक्ष कमानसिंह पाख्रिन, वडा सदस्यहरू रतनबहादुर बज्यू सुनिल, तुलबहादुर मोक्तान, वाइसिएल नेपाल मकवानपुर अध्यक्ष मुक्ति लामा, नेपाल टेलिकम मकवानपुरका प्रशासन र प्राविधिक शाखाका प्रमुखलगायतको आतिथ्यता रहेको थियो । स्थानीयले टेलिकम टावर सञ्चालनमा आएसँगै सञ्चार, सूचना पहुँच र समग्र विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.