नेपाली कांग्रेसको विशेष महाधिवेशन आजबाट हुँदै

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आजबाट काठमाडौँमा हुँदैछ । पार्टीभित्र देखिएको आन्तरिक मतभेद, संगठनात्मक संरचना र भावी राजनीतिक कार्यदिशाबारे छलफल गर्ने उद्देश्यसहित विशेष महाधिवेशन आयोजना गरिएको हो ।

महाधिवेशनमा देशभरका प्रतिनिधि तथा नेताहरूको सहभागिता रहने आयोजक समितिले जनाएको छ । आज उद्घाटन सत्रसँगै पार्टीको वर्तमान अवस्था, विधान संशोधन, नेतृत्व व्यवस्थापन तथा संगठन सुदृढीकरणका विषयमा छलफल सुरु हुने कार्यक्रम रहेको छ ।

विशेष महाधिवेशनलाई लिएर कांग्रेसभित्र फरक–फरक धारणा देखिएका छन् । एक पक्षले पार्टी सुधार र एकताका लागि महाधिवेशन आवश्यक भएको बताउँदै आएको छ भने अर्को पक्षले यसको औचित्यमाथि प्रश्न उठाउँदै आएको छ । यद्यपि आयोजक पक्षले लोकतान्त्रिक अभ्यासमार्फत् पार्टीका समस्या समाधान गर्ने विश्वास व्यक्त गरेको छ ।

महाधिवेशनका क्रममा पारित हुने प्रस्ताव र निर्णयले नेपाली कांग्रेसको आगामी रणनीति र राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ । विशेष महाधिवेशन  भोलिसम्म संचालन हुने कार्यक्रम रहेको छ ।

काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन हुन लागेको हो । विशेष महाधिवेशनको आज दिउँसो १ बजे उद्घाटन कार्यक्रम रहेको छ । उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउने गरी मञ्च निर्माण गरिएको आयोजकले जनाएको छ ।

त्यसैगरी, मञ्चको अगाडि खुला चौरमा ६ हजारभन्दा धेरै अट्ने गरी कुर्सीको व्यवस्थापन गरिएको विशेष महाधिवेशनका लागि गठन गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले बताए । उनका अनुसार, मञ्च वरिपरि कांग्रेसको झण्डा, गेट, ब्यानर तथा प्रचारप्रसारका सामग्री राखेर सजाइएको छ ।

महाधिवेशनको उद्घाटन जेष्ठ सदस्यले गर्ने भनिएको छ । उद्घाटन कार्यक्रम अघि काठमाडौंका विभिन्न ठाउँमा र्याली गर्ने तयारी छ । विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाण्डौका सभापति कृष्ण सबुज बानियाँले गर्नेछन् भने देशभरबाट विशेष महाधिवेशनमा भाग लिन कतिपय प्रतिनिधि आइसकेका र केही आउने क्रम जारी रहेको आयोजक समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.