हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा आज आइतबारबाट १२ औं सडक खाना महोत्सव आयोजना हुँदैछ । मकवानपुर होटल एसोशिएसनले आइतबारदेखि हेटौंडा उपमहानगरपालिका–४ हुप्रचौरस्थित सडकमा खाना महोत्सव आयोजना गर्न लागेको हो ।
‘सडकमा जाऔं, सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नाराका साथ होटल एसोशिएसन मकवानपुरले ११ वर्षदेखि निरन्तर सडक खाना महोत्सव आयोजना गर्दै आएको छ । सडक खाना महोत्सव पुस १६ गतेसम्म दिउँसो ४ बजेदेखि राति ९ बजेसम्म संचालन हुने आयोजक जनाएको छ ।
महोत्सवमा सांस्कृतिकदेखि आधुनिक किसिमका विभिन्न खानाका परिकार बिक्री गरिने छ । मनोरञ्जनका लागि स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका कलाकारले प्रस्तुति गर्ने छन् । महोत्सवमा करिब ६० वटा स्टल रहनेछन् ।
एउटा स्टल राख्न ४ दिनको १० हजार रुपैयाँ शुल्क लाग्नेछ । खाद्य सामग्रीको शुद्धतामा विशेष ध्यान दिने र व्यवसायीलाई दैनिक फोहोर व्यवस्थापन गर्न लगाइने आयोजकले जनाएको छ । खानाको मेनु प्रत्येक स्टलमा अनिवार्य राख्नु पर्नेछ । महोत्सव व्यवस्थापनमा १५ लाख ७२ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।
स्टलबाट ७० देखि ८० लाखसम्म व्यापार हुने अनुमान गरिएको छ । महोत्सवमा ३० देखि ४० हजार अवलोकनकर्ता आउने आयोजकले जनाएको छ । महोत्सव अवधिभर आपतकालीन अवस्थाका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाद्वारा एम्बुलेन्स र हेटौंडा उपमहानगरपालिकाद्वारा दमकलको व्यवस्था गरिएको छ । यसैगरी मकवानपुर सहकारी अस्पतालका टोलीले आकस्मिक उपचार सेवा प्रदान गर्नेछ ।















