मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी पुस २३ गते बुधवार अधिवेशन गर्ने भएको छ । पालिकाले एक सूचना जारी गर्दै आफ्नो १९ औं हिउदे अधिवेशन (गाउँसभा) बारे जानकारी गराएको हो ।
अधिवेशन पालिकाको कार्यालय, चैनपुरमा आयोजना हुने जनाइएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ (२) बमोजिम आह्वान गरिएको सूचनामा भनिएको छ ।
अधिवेशनकै अवसर पारेर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटनसमेत गरिने गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । उनका अनुसार, नवनिर्मित भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्ने कार्यक्रम रहेको छ ।
मकवानपुर जिल्लाकै दुर्गम राक्सिराङ गाउँपालिकाको केन्द्र रहेको चैनपुरमा करिब ७ कठ्ठा जमिनमा ६ करोड ४२ लाखको लागतमा चारतले ४३ कोठे भवन निर्माण गरिएको छ । भवनको २०७८ असारमा जयमाता इन्जिनियरिङ निर्माण कम्पनीले निर्माण कार्य सुरु गरिएको थियो ।
सम्झौता अनुसार २०८२ असार मसान्तसम्म निर्माण कार्य सकिसक्नुपर्ने भएपनि ४ महिना ढिलो गरि भवन निर्माण कार्य सम्पन्न भएको हो ।















