हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ बतासेस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा टाटा सुमो पल्टिँदा एक महिला घाइते भएकी छन्।
बुधबार अपराह्न करिब ४ः५० बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना १ ज ६९५६ नम्बरको टाटा सुमो अचानक ब्रेक जाम भई अनियन्त्रित भएर सडक बीचमै पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
प्रहरीका अनुसार सुमोमा चालकसहित ९ जना सवार थिए। दुर्घटनामा नाम, थर र वतन नखुलेकी अन्दाजी ४५–५० वर्षीया महिलाको टाउकोमा सामान्य चोट लागेको छ। घाइते महिलालाई उपचारका लागि काठमाडौँतर्फ पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सुमोमा क्षति पुगेको भए पनि सडक अवरुद्ध नभएको र सवारीसाधनलाई घटनास्थल नजिकै सडक छेउमा सुरक्षित रूपमा राखिएको प्रहरीको भनाई छ। दुर्घटनास्थल प्रहरी चौकी खानिखेतबाट करिब ९ किलोमिटर पश्चिममा पर्छ।
प्रतिकृया दिनुहोस्















