सुनाचुरी सामुदायिक वनद्वारा खाट, सिलाइ मेसिनदेखि अक्षय कोषसम्म सहयोग

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी–६ मा रहेको सुनाचुरी सामुदायिक वन उपभोक्ता समूहले गरिब तथा विपन्न उपभोक्ता र विभिन्न संघ–संस्थालाई लक्षित गर्दै खाट, सिलाइ मेसिन तथा अक्षय कोषमा सहयोग हस्तान्तरण गरेको छ।

शनिबार वन समूहको सभाहलमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रमअन्तर्गत गरिबी निवारण तथा महिला सशक्तीकरण शीर्षकमा विनियोजित बजेट कार्यान्वयन गर्दै सहयोग वितरण गरिएको हो।

वन समूहका सचिव रमेश कार्कीका अनुसार, कार्यक्रममा २ जना महिलालाई स्वरोजगारमा टेवा पुग्ने उद्देश्यले सिलाइकटाइ मेसिन प्रदान गरिएको छ। साथै, गरिबीका कारण जाडो मौसममा भुइँमै सुत्न बाध्य ४५ परिवारलाई काठबाट निर्मित खाट वितरण गरिएको छ।

शिक्षा क्षेत्रतर्फ मनहरी–६ स्थित राष्ट्रिय माध्यमिक विद्यालय सुनाचुरीले स्थापना गरेको अक्षय कोषमा थप १० लाख रुपैयाँ सहयोग प्रदान गरिएको छ। यसअघि पनि वन समूहले सोही विद्यालयको अक्षय कोष स्थापनाका लागि १० लाख रुपैयाँ सहयोग गरिसकेको थियो।

स्वास्थ्य क्षेत्रतर्फ पुष्पलाल आधारभूत स्वास्थ्य केन्द्रअन्तर्गत आमा समूह सञ्चालनका लागि ५० हजार रुपैयाँ सहयोग गरिएको छ। त्यस्तै, बृहत् जोगिताल खानेपानी आयोजनालाई २ लाख रुपैयाँ प्रदान गरिएको छ।

यसैगरी, मनहरी गाउँपालिकासँगको साझेदारीमा जनजागृति दुग्ध उत्पादक संस्थामार्फत उपभोक्तालाई बाछी वितरण गर्न १ लाख रुपैयाँ हस्तान्तरण गर्ने विषयमा सम्झौता पनि गरिएको वन समूहले जनाएको छ।

डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख हेम थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मनहरी–६ का वडा अध्यक्ष युवराज थपलिया, मनहरी सब–डिभिजन वन कार्यालयका वन अधिकृत डटेन्द्र गोले, राष्ट्रिय माध्यमिक विद्यालय सुनाचुरीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवलाल मुक्तान, प्रधानाध्यापक सुवास श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

वन समूहका अध्यक्ष पार्वती मुक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव रमेश कार्कीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.