हेटौंडा। हेटौंडा उपमहानगरपालिका, सडक डिभिजन कार्यालय हेटौंडा र जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई ११ वटा राजनीतिक दलहरूले संयुक्त रूपमा दबाबमूलक ध्यानाकर्षण पत्र बुझाएका छन्। आइतबार ज्ञापन पत्र ७ बुँदे मागसहित बुझाइएको हो।
ज्ञापन पत्रमा महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको मध्यरेखादेखि दायाँबायाँ २५/२५ गज सडक विस्तार तत्काल कार्यान्वयन गर्नुपर्ने मागसहित बुझाइएको उक्त ज्ञापन पत्रमा सडक सिमाभित्र पर्ने घरजग्गाका वास्तविक पीडितलाई मुआब्जा उपलब्ध गराउन, नगरभित्र रहेका सार्वजनिक जमिनको सिमांकन गरी संरक्षण गर्न, वास्तविक सुकुम्बासीको पहिचान गरी व्यवस्थापनका लागि पहल गर्न तथा जनजीवन र प्राकृतिक सौन्दर्य नष्ट हुने गरी भइरहेको अवैधानिक उत्खनन र मापदण्ड विपरीत गिट्टी–बालुवा संकलनका नाममा भइरहेको उत्खनन पूर्ण रूपमा बन्द गराउनुपर्ने उल्लेख गरिएको छ। साथै जिल्ला भित्र लागुऔषध ओसारपसार तथा बिक्री–वितरण न्यूनीकरणमा प्रभावकारी कदम चाल्न पनि ध्यानाकर्षण गराइएको छ।
नेकपा (माओवादी) का केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामबहादुर घलानका अनुसार लामो समयदेखि सामाजिक, आर्थिक, राजनीतिक र जनजीविकासम्बन्धी विषयमा संघर्ष गर्दै आएका दलहरूले फेरि पनि संयुक्त रूपमा आवाज उठाउनु परेको हो। उनका अनुसार सडक विस्तारको विषय पटक-पटक उठे पनि व्यवहारमा रूपान्तरण नहुँदा यसपटक एकजुट भएर स्थानीय निकाय र प्रशासनलाई औपचारिक रूपमा दबाब दिइएको हो।
ध्यानाकर्षण पत्रमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मकवानपुर, क्रान्तिकारी कम्युनिस्ट पार्टी मकवानपुर, नेकपा बहुमत मकवानपुर, नेकपा क्रान्तिकारी केन्द्र मकवानपुर, नेकपा माले मकवानपुर, नेपाल कम्युनिस्ट पार्टी मकवानपुर, उज्यालो नेपाल पार्टी मकवानपुर, श्रम संस्कृति पार्टी मकवानपुर, जनता समाजवादी पार्टी मकवानपुर, राष्ट्रिय जनमोर्चा मकवानपुर र जनता समाजवादी पार्टी (जिल्ला संगठन) मकवानपुरका जिम्मेवार पदाधिकारीहरूको हस्ताक्षर रहेको छ।
















