पशु सेवा कार्यालय मकवानपुरले सार्वजनिक गर्यो वार्षिक योजना, प्राथमिकतामा खोप र रोग नियन्त्रण

हेटौँडा । पशु सेवा कार्यालय मकवानपुरले चालु आर्थिक वर्षका लागि स्वीकृत वार्षिक योजना सार्वजनिक गरेको छ । बुधबार आयोजित एक गोष्ठीमार्फत् कार्यालयले वार्षिक कार्यक्रम तथा खर्च शीर्षकहरू सार्वजनिक गरेको हो ।

कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. रामप्रकाश प्रधानका अनुसार, चालुतर्फ ४ करोड ९६ लाख रुपैयाँ र पुँजीगततर्फ २३ लाख ४० हजार रुपैयाँ बराबरको कार्यक्रम कार्यान्वयन गरिनेछ । जेनजी आन्दोलनपछि बजेट कटौती हुँदा योजना सार्वजनिक गर्ने तथा कार्यान्वयनमा केही ढिलाइ भए पनि अब सबै कार्यक्रम तीव्र गतिमा अघि बढाइने उनले स्पष्ट पारे ।

कार्यालय प्रमुख डा. प्रधानले विशेषगरी खोप तथा रोग नियन्त्रणलाई प्राथमिकतामा राखी खोरेत रोग क्षेत्र कार्यक्रमअन्तर्गत खोप कार्ड छपाइ, समन्वय बैठक तथा आवश्यक पूर्वतयारी कार्यहरू सञ्चालन गरिने जानकारी दिए । साथै चालु वर्षमा एक वडा–एक कृषि उत्पादन कार्यक्रम व्यापक रूपमा सञ्चालन गरिने उल्लेख गर्दै यसको लागि ५६ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी समेत दिए ।

साथै पशुपंक्षी रोग सर्भिलेन्स तथा नमुना संकलन र परीक्षण, संक्रामक रोगविरुद्धको खोप कार्यक्रम, मत्स्यपालन क्षेत्र विकास, तथा पशुपंक्षी तथा मत्सजन्य पदार्थ उपभोग प्रवद्र्धन जस्ता कार्यक्रम पनि कार्यालयले यस वर्ष प्राथमिकताका साथ सञ्चालन गर्ने जनाइएको छ ।

कार्यक्रमको क्रममा कार्यालयका डा. मदन भण्डारीले त्रैमासिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। गोष्ठीमा इन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी, मकवानपुरगढी ६ का वडाध्यक्ष कृष्णप्रसाद बजगाई, कैलाश ३ का वडाध्यक्ष देवलाल बल, पशुपंक्षी निर्देशनालयका वरिष्ठ पुश अधिकृत डा. सन्तोष घिमिरे, डा. कमल अधिकारीलगायतले आफ्नो धारणा राखेका थिए ।

गोष्ठीमा जिल्लाका विभिन्न स्थानीय तहका पशु शाखा प्रमुख तथा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.