हेटौंडा । बागमती प्रदेशका पूर्व युवा तथा खेलकुद मन्त्री एवम् प्रदेशसभा सदस्य रमा आले मगर गम्भीर बिरामी परेकी छिन् । स्वास्थ्य अवस्था जटिल बन्दै गएकी मगरको ११ दिनदेखि आइसियूमा राखेर उपचार भैरहेको छ । पेट तथा कलेजोसम्बन्धी समस्याका कारण उनी ११ दिनदेखि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको आइसियूमा भर्ना भएर उपचाररत रहेको परिवारले जनाएको छ ।
लामो समयदेखि पेटको समस्याबाट पीडित आले मगरलाई सुरुमा अल्सरको समस्या देखिएको थियो । पछिल्लो परीक्षणमा कलेजो सम्बन्धी गम्भीर जटिलता देखिएपछि चिकित्सकहरूले नजिकै अवलोकन गर्दै आइसियूमै राखेर उपचार भइरहेको उनका भाइ राम आले मगरले जानकारी दिएका छन् । उनका अनुसार पूर्व मन्त्री आले मगरको स्वास्थ्यमा अपेक्षित सुधार नआएपछि चिकित्सक टोलीले थप उपचारका लागि विदेश लैजान सुझाव दिएको छ ।
स्वास्थ्य उपचार खर्च धान्न कठिनाइ भएपछि सहयोग संकलनको अभियान समेत सुरु गरिएको छ । उनको उपचारमा सक्रिय रूपमा जुटिरहेका प्रकाश खड्काले सामाजिक सञ्जालमार्फत आले मगरको तस्बिर र बैंक क्युआर कोड सार्वजनिक गर्दै आर्थिक सहयोगका लागि अपिल गरेका छन् । प्रदेश राजनीति तथा जनतासँग नजिकको सम्बन्धका कारण परिचित रमा आले मगर २०७४ मा नेकपा एमालेबाट र २०७९ मा नेकपा (एकीकृत समाजवादी) बाट काठमाडौं १० को प्रदेशसभा (ख) बाट निर्वाचित सांसद् हुन् ।
काठमाडौं महानगर अन्तर्गत चन्द्रागिरी ३ स्थायी बसोबास भएकी उनले ०८० चैत १९ गते मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको मन्त्रिपरिषदमा युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी लिएकी थिइन् ।















