मकवानपुर । हेटौँडा उपमहानगरपालिका–९ मास्टरचोकस्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
गएराती करिब ११ बजे जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २६५६ नम्बरको यात्रुबाहक बसले हाल नामथर र वतन नखुलेको करिब ३०–३२ वर्षका एक पुरुष पैदल यात्रीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।
प्रहरीले घाइतेलाई अचेत अवस्थामा उद्धार गरी हेटौँडा अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार उपचारको क्रममा राति ११:३० बजे अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
बस चालक महोत्तरी रामगोपालपुर नगरपालिका–६ का ३३ वर्षीय सुजय कुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसमा सवार यात्रुहरुलाई अर्को बसमार्फत गन्तव्यतर्फ पठाइएको र बस तथा चालकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको प्रहरीले जनाएको छ ।
घटनास्थल इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट करिब १ किलोमिटर दक्षिणमा पर्ने बताइएको छ ।















