हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुरमा आवद्ध पत्रकारहरूले अबदेखि सहकारी अस्पताल हेटौँडामा निःशुल्क उपचार सुविधा पाउने भएका छन् । नेपाल पत्रकार महासंघ मकवानपुर र सुनौलो भविष्य सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित सहकारी अस्पतालबीच आज शनिबार तीन वर्षका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने सम्झौता भएको हो ।
सम्झौतापत्रमा महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण शर्मा अधिकारी र सहकारी अस्पतालका प्रतिनिधि नरोत्तम दाहालले हस्ताक्षर गरेका छन् । सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यसहित गरिएको सम्झौताअनुसार महासंघमा आवद्ध तथा सदस्य बन्ने क्रममा रहेका सक्रिय पत्रकारहरूले सहज रूपमा स्वास्थ्य उपचार सुविधा पाउने भएका छन् ।
सम्झौताअनुसार सम्पूर्ण ओपिडी सेवा, शल्यक्रिया तथा भर्ना भई उपचार गर्दा लाग्ने खर्च, ल्याब सेवा, रेडियोलोजी सेवा र अस्पतालमा उपलब्ध अन्य परीक्षणसम्बन्धी सेवा निःशुल्क हुने व्यवस्था गरिएको छ । यसैगरी, औषधी खरिद गर्दा १० प्रतिशत छुट समेत प्राप्त हुने सम्झौतामा उल्लेख छ । सेवा लिनका लागि नेपाल पत्रकार महासंघले जारी गरेको सदस्यता प्रमाणपत्र अनिवार्य आवश्यक पर्नेछ ।
सम्झौता कार्यक्रममा नेपालीहरूको महान् चाडपर्वको अवसरमा शुभकामना आदान–प्रदान समेत गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारू मगर, महासंघ मकवानपुरका अध्यक्ष अधिकारीलगायतले मन्तव्य राखेका थिए ।
सहकारी अस्पतालका प्रतिनिधिहरू, पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष तथा पत्रकार निकट संगठनका प्रतिनिधिसहित पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रम महासंघ जिल्ला सचिव केशव समर्पण सुवेदीले सञ्चालन गरेका थिए ।















