हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार दिउँसो भएको सवारी दुर्घटनामा ३१ जना घाइते भएका छन्। तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार दिउँसो करिब १ः१० बजे चितवनबाट वीरगन्जतर्फ जाँदै गरेको ना ६ ख २११९ नम्बरको यात्रुबाहक बसको चालकतर्फको टायर पड्किँदा बस अनियन्त्रित भई विपरीत दिशाबाट आइरहेको ना ६ ख ८१८० नम्बरको मालवाहक ट्रकसँग ठोक्किएको थियो। उक्त ट्रक पुनः अनियन्त्रित भई काठमाडौंबाट बारा जाँदै गरेको ना ७ ख १७७४ नम्बरको तेल बोकेको खाली ट्याङ्करमा ठोक्किँदा दुर्घटना भएको हो।
घाइतेलाई उद्धार गरी हेटौंडा अस्पताल र चुरेहिल (CMC) अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ । दुई जनाको अवस्था गम्भीर रहेको र अन्यको मध्यम तथा सामान्य चोटपटक लागेको प्रहरीको भनाई छ ।
इलाका प्रहरी कार्यालय नेवारपानी र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट खटिएको २५ जनाको प्रहरी टोलीले दुर्घटनाग्रस्त सवारी हटाउने कार्य थालेको छ।















