हेटौँडाबाट लागूऔषधसहित तीन जना पक्राउ

हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडाबाट बिहीबार लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सरस्वती मुक्तान, रोजन मुक्तान र सुल्तान खान रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

प्रवक्ता अर्यालका अनुसार, हेटौँडा उपमहानगरपालिका वडा नं. २ स्थित सानोपोखराचोकमा रहेको एक चिया पसलमा लागूऔषध कारोबार भइरहेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

४२ वर्षीया सरस्वती मुक्तान भीमफेदी गाउँपालिका स्थायी घर भई हाल सानोपोखरामै चिया पसल सञ्चालन गर्दै आएकी थिइन् । यस्तै, १९ वर्षीय रोजन मुक्तान पनि सोही स्थानका बासिन्दा हुन् भने २३ वर्षीय सुल्तान खान भारत मोतीहारीका हुन्।

प्रहरी टोलीले चिया पसल र उनीहरूको शरीर खानतलासी गर्दा १८८ क्याप्सुल लागूऔषध ट्रमाडोल र करिब ५० ग्राम लागुऔषध गाँजा बरामद गरेको प्रवक्ता अर्यालले बताए । बरामद गरिएका लागूऔषधसहित तीनै जनालाई पक्राउ गरी जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता अर्यालले बताए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.