हेटौँडा । नारायणी यातायात व्यवसायी कम्पनी प्रालिले पुलहरुको क्षमता वृद्धि र मर्मतसम्भार गर्न सरकारको ध्यानाकर्षण गराएको छ । पूर्व पश्चिम राजमार्गमा क्षमताभन्दा बढी भार बोकेका सवारी साधनका कारण पुल भाँचिने र राजमार्ग नै भासिने घटना बढेको भन्दै उक्त व्यवसायी कम्पनीले सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो ।
बिहीबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै कम्पनीका अध्यक्ष गोकर्ण पराजुलीले ओभरलोडका कारण दुर्घटना बढेको र जनताले मार खेप्न बाध्य भएको जानकारी दिए । पुल भाँचिने र सडक भासिने समस्याले सार्वजनिक यातायातमा ठूलो समस्या उत्पन्न भई यात्रु तथा मालवाहक सवारी साधनले अनावश्यक झन्झट भोग्नुका साथै आर्थिक क्षति भइरहेको उनले बताए ।
उनले नारायणी यातायात कम्पनी प्रालिले पुलहरूको क्षमता वृद्धि र मर्मतसम्भार, भारवहन क्षमताको कडाईका साथ पालना, तौलपुलले कडाईका साथ ओभरलोडको नियन्त्रण गर्नुपर्ने माग अघि सारेको बताए । राजमार्ग सुरक्षा, जनचेतना अभिवृद्धि गर्नुपर्ने कम्पनीको माग रहेको छ । नेपाल सरकारले पूर्ण रुपमा ढुवानीमा मूल्य अभिवृद्धि कर लागू गरेपनि सो निर्णय प्रभावकारी कार्यान्वयन नभएको उनको भनाई छ ।
यस्तै, कम्पनीका कार्यकारी सञ्चालक माधव अधिकारीले ट्राफिकले समेत ओभरलोडलाई बेवास्ता गर्ने गरेको भन्दै ठूलाबडाको गाडी भएकोले ट्राफिकले देखे नदेखे झैं गरेको गुनासो गरे । उनले भने, ‘ट्राफिकले समेत ओभरलोडलाई बेवास्ता गर्ने गरेको छ । ठूलाबडाको गाडी भएकोले ट्राफिकले देखे नदेखे झैं गर्छ ।’
यस विषयमा यातायात व्यवसायी महासंघमार्फत् सरकारको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई नभएको उनको भनाई छ । ओभरलोड गाडीलाई पुराना पुलहरूले थेग्न नसकेको उनले बताए ।

















