हेटौँडा । मकवानपुरको हेटौँडामा मातृभूमि साहित्यक महोत्सव २०८२ हुने भएको छ । मातृभूमि साहित्य समाजको आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको प्रर्वद्धनमा मातृभूमि साहित्य महोत्सव हुन लागेको हो ।
बिहीबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रम संयोजक हयग्रीव आचार्यले यही जेठ १५ र १६ गते हेटौँडा–२, स्थित पल्पसा प्याराडाइजमा महोत्सव हुने जानकारी दिए ।
उनका आचार्यका अनुसार, महोत्सवमा विभिन्न विधामा योगदान पुर्याएका सात जना व्यक्तित्वहरूलाई नगद राशिसहित सम्मान गरिने छ । जसमध्ये काठमाडौंका साहित्यकार गीता रेग्मी लाई ‘मायादेवी मातृभूमि पुरस्कार २०८०’ बाट २१ हजार रुपैयाँ पुरस्कार राशीसहित सम्मान गरिनेछ ।
यस्तै, ‘राजकुमार स्मृति मातृभूमि सम्मान २०८०’ बाट (धरान) का चन्द्र गुरुङ र ‘क्षेत्रबहादुर स्मृति मातृभूमि सम्मान २०८०’ बाट माधव काफ्ले (रौतहट) लाई सम्मान गर्ने भएको छ । उनीहरुलाई नगद रु १५ हजार रुपैयाँ पुरस्कार राशीसहित सम्मान गरिने भएको छ ।
यसैगरी, ‘होमनाथ बलदेवी मातृभूमि छन्द साहित्य सम्मान २०८१’ बाट सुदेश सत्याल, ‘मञ्जु सुवेदी स्मृति मातृभूमि सम्मान २०८२’ बाट रजनी ज्ञवालीलाई नगद रु १५ हजार रुपैयाँ, पत्रकारिता क्षेत्रको योगदानलाई सम्मान गर्दै ‘मातृभूमि पत्रकारिता दीर्घ सेवा सम्मान २०८१’ वरिष्ठ पत्रकार प्रताप विष्टलाई प्रदान गरिनेछ भने झलक बहादुर बानियाँ स्मृृति मातृभूमि जीवन संघर्ष प्रोत्साहन सम्मान २०८०’ अन्तर्गत हेटौँडा–१८ स्थित कमला आधारभूत विद्यालयका कक्षा ८ का उत्कृष्ट छात्र–छात्रालाई नगद रु ७ हजार ५ सय रुपैयाँसहित सम्मानित गरिन कार्यक्रम संयोजक आचार्यले बताए ।
यसैगरी, कार्यक्रमको क्रममा साहित्यिक परिचर्चा समेत आयोजना गरिने साहित्य समाजका सचिव किशन पौडेलले जानकारी दिए । उक्त कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहने छ । नेपाली भाषा, साहित्य र कलाको संरक्षण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमका लागि हेटौंडा उपमहानगरपालिकाले २ लाख रुपैँया सहयोग उपलब्ध गरिएको सचिव पौडेलले बताए ।
मातृभुमि समाजले यसअघिका वर्षहरुमा पनि साहित्यिक कार्यक्रमलाई निरन्तरता दिनका साथै स्थापित एवम् नवोदित प्रतिभाहरुलाई पुरस्कार एवम् सम्मान गर्दै आएका छन् ।

















