दुग्घ संघले जिल्ला प्रशासन मकवानपुरमा बुझायो भुक्तानी नदिने उद्योगीको विवरण

मकवानपुर । दुग्ध विकास संस्थान र निजी डेरी उद्योगहरुले लामो समयसम्म कृषहरुलाई दुग्धको बक्यौता रकम भुक्तानी नगरेकोे भन्दै मकवानपुर जिल्ला दुग्घ उत्पादक सहकारी संघले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उद्योगीको विवरण बुझाएको छ ।

केन्द्रीय दुग्ध सहकारी संघले घोषणा गरेको कार्यक्रम अन्तर्गत मंगलबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ समक्ष जिल्लाभरमा रहेका दुग्ध उत्पादक सहकारी संस्थाहरुले उद्योगहरुसँग लिनुपर्ने विवरणसहित सो भुक्तानीको लागि आवश्यक सहजीकरणका लागि उक्त विवरण पेश गरिएको हो ।

केन्द्रीय दुग्ध सहकारी संघले गत बैशाख २६ गते घोषणा गरेको कार्यक्रम अन्तरगत मंगलवार प्रमुख जिल्ला अधिकारीलाई उक्त विवरण पेश गरिएको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कंडेलले जानकारी दिए ।

गत जेठ २५ गतेदेखि असार ४ गतेसम्म कृषकहरुको दूधको भुक्तानीका लागि गरेको आन्दोलन पश्चात कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव, सहसचिव, राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त निर्देशक, दुग्ध विकास संस्थानका महाप्रबन्धक लगायत आन्दोलनरत किसान प्रतिनिधिहरुको उपस्थितिमा भएको १० बुँदे सम्झौता गरेको थियो ।

उक्त सम्झौता हालसम्म कार्यन्वयन नभएकोले उक्त सम्झौता कार्यान्वयन गर्नको लागि आग्रह सहित आगामी जेठ १ गतेदेखि चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो ।

हाल मकवानपुरमा ६२ वटा सहकारी संस्था मार्फत करिव १३ हजार कृषकहरुले दैनिक ८५ हजार लिटर भन्दा बढी दुध उत्पादन गरी संकलन गर्दै मासिक १८ करोड भन्दा बढी रकम आम्दानी गर्दै आएका छन् ।

मकवानपुर जिल्ला दुग्घ उत्पादक सहकारी संघको सहजीकरणमा देशका विभिन्न दुग्ध उद्योगहरुले मकवानपुरका सहकारीहरुबाट कच्चा दुग्ध खरिद गर्दै आएकोमा उक्त उद्योगहरुले लामो समयदेखि २२ करोड भन्दा बढी रकम भुक्तानी नगरेको संघका निमित्त ब्यवस्थापक दामोदर आधिकारीले बताए । पटक पटकको ताकेता र आग्रह गर्दापनि उक्त उद्योगहरुले सम्झौता अनुसारको रकम भुक्तानी नगरेको निमित्त ब्यवस्थापक अधिकारीले बताए ।

सहकारी संघ प्रतिनिधिहरुसंगको छलफलमा मकवानपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले स्थानीय क्षेत्रमै दुधको विविधिकरणका लागि उद्योग स्थापना गर्न सुझाव दिइन् । उनले भुक्तानी दिन बाँकी उद्योगीहरुसंग आवश्यक समन्वय गर्ने पनि बताइन् ।

छलफल कार्यक्रममा केन्द्रीय दुग्ध सहकारी संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद देवकोटा, सञ्चालक बिदुर हुमागाई, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका सञ्चालक हेमप्रसाद न्यौपाने लगायत विभिन्न सहकारी संघ÷संस्थाका अध्यक्ष, व्यवस्थापकको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.