हेटौँडा । हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाले रात्रीकालिन व्यवसायको पक्षमा उपमहानगर रहेको बताएकी छन् । शनिबार मकवानपुर होटेल एशोसियएनको १६ औं साधारणसभा एवम् ७ औं अधिवेशन कार्यक्रममा बोल्दै उनले प्रदेश राजधानी हेटौंडामा २४ सैं घण्टा व्यवसाय सञ्चालन हुनुपर्छ भन्ने मान्यता आफुहरुको रहेको बताइन् ।
त्यसको लागि अनुशासन र सुरक्षाको जिम्मेवारी सबै पक्षले लिनुपर्ने उनको भनाई छ । नगर प्रमुख लामाले हेटौंडा शहरलाई मर्यादित, सुरक्षित बनाउने गरी होटेल व्यवसायहरु सञ्चालन गर्नुपर्ने बताइन् । उनले हेटौंडामा आएका पर्यटकहरुलाई हेटौंडामै केही दिन बस्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा समेत जोड दिनुभयो । नगर प्रमुख लामाले राप्ती र कर्रा खोलालाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने प्रक्रिया अघि बढिसकेको समेत बताइन् ।
त्यसैगरी कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका केन्द्रिय अध्यक्ष दिनेश कुमार चुकेले पुराना ऐनहरुमै टेकेर आफुहरुले काम गर्नुपरेको बताए । संघ र प्रदेश सरकारको पर्यटन ऐनलाई संशोधनको लागि विगत देखि आवाज उठाउँदा अहिले सम्म संशोधन हुन नसकेको उनले असन्तुष्टि जनाए । अध्यक्ष चुकेले पर्यटनको क्षेत्रमा सरकारले विनियोजन गरेको बजेट कहाँ र कसरी खर्च हुन्छ आफुहरुलाई नै थाहा नभएको बताए ।
यसैगरी मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले नेपालको पर्यापर्यटनलाई टेवा पुग्ने गरी होटल व्यवसायहरु सञ्चालन गर्नुपर्ने बताइन् । सुस्ताएको अर्थतन्त्रलाई माथि उठाउन पहिचान भएका गन्तव्यहरुको विकास गर्न जरुरी भएको उनको भनाई छ । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले नेपाललाई पर्यटनको दृष्टिकोणले विश्वकै सुरक्षित र आकर्षक स्थानको रुपमा चिनाउनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा २ जना पुराना होटल व्यवसायीहरु बुद्धि बहादुर लामा र अमृत रत्न मानन्धरलाई सम्मानित गरिएको थियो । त्यसैगरी संस्थाको योगदानमा सहयोग पु¥याउने व्यक्तित्वहरुलाई पनि कदर पत्र प्रदान गरिएको थियो । अधिवेशनले पुनः दिलिश गोविन्द जोशीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा २ नं. वडा अध्यक्ष विष्णु गोपाल महर्जन, उपाध्यक्षमा धनबहादुर पौडेल (कल्यण), महासचिवमा हरि गोपाल सापकोटा, कोषाध्यक्षमा रविन लामा, सचिवमा उमा प्रसाद रौनियार र सहकोषाध्यक्षमा सुरेश लामा चयन भएका छन् । नयाँ समितिको कार्यकाल ३ वर्षका हुनेछ ।

















