हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे स्थित रिद्धिसिद्धि सिमेन्ट फ्याक्ट्री अगाडि भित्री सडक खण्डमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जना घाइते भएका छन्।
बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार बुधबार बिहान करिब ९:३० बजे रातोमाटेबाट भोर्लेतर्फ जाँदै गरेको बा.प्र.०३–००६ प २५२३ नम्बरको स्कुटरलाई फारलाइनबाट रिद्धिसिद्धितर्फ आउँदै गरेको ना.२१ प ८२९८ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको हो।
दुर्घटनामा मोटरसाइकल चालक हेटौंडा–५ बस्ने करिब ५० वर्षीय महेश्वर अमात्य घाइते भएका छन्। उनको ढाडमा भित्री चोट लागेको छ र अवस्था मध्यम रहेको छ। त्यस्तै स्कुटर चालक हेटौंडा–१५ बस्ने ३२ वर्षीया माया तामाङको कुममा चोट लागेको छ, उनको अवस्था पनि मध्यम रहेको प्रहरीले जनाएको छ।
घाइते दुवै जनालाई उपचारका लागि मकवानपुर सहकारी अस्पताल पठाइएको छ। प्रहरी हवलदार राजकुमार गजुरेलको कमाण्डमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ।
दुर्घटनामा संलग्न दुवै सवारी साधनमा क्षति पुगेको छ भने सवारी साधनहरू प्रहरी चौकी रातोमाटेको नियन्त्रणमा रहेका छन्। प्रारम्भिक अनुसन्धानका अनुसार दुवै चालकले मदिरा सेवन नगरेको र आवश्यक कागजातसमेत ठीक रहेको प्रहरीले जनाएको छ।













