नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले टिकट लिने समयमा ‘म हैन उ’ भनेको दिन कांग्रेसले नहार्ने दावी गरेका छन् । नेपाली कांग्रेस मनहरी गाउँपालिकाले आयोजना गरेको कृयाशिल तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमका प्रमुख अतिथि रहेका उनले आफैंलाई पद चाहिने र नपाउने वित्तिकै विद्रोह गर्ने प्रवृत्तिका कारण कांग्रेसले हार व्यहोर्ने गरेको धारणा राखे ।
कांग्रेस बलियो छ भन्ने उपनिर्वाचनबाट प्रष्ट भैसकेको जानकारी दिँदै उनले प्राप्त उपलब्धीहरुको रक्षा गर्दै कांग्रेसको नेतृत्वमा भएका राम्रा कामहरु लिएर जनताकोमा जानुपर्ने सुझाव दिए । जनताको निराशालाई चिर्दै जनअपेक्षा अनुसार काम गर्न दुई ठूला दल कांग्रेस र एमालेको बीचमा सहकार्य भएको महामन्त्री शर्माले प्रष्ट पारे । ‘कति बेला सरकार ढल्छ र कोसँग मिलेर सरकार बन्छ भन्ने अन्यौलता जनतामा रहिरहने अवस्था भएकोले एमालेसँग मिलेर सरकारमा गएका हौं । यसबाट जनतामा आशा पलाएको छ ।’ मुलुकको विकासका लागि जे भएको छ हाम्रै कांग्रेसकै कारण भएको दावी गर्दै उनले अब जे हुन्छ कांग्रेसकै कारण हुने प्रष्ट पारे । अहिले सामाजिक सञ्जालमा हार्दिक श्रद्धाञ्जली लेख्नेहरुले हार्दिक जिन्दावाद भनेर कांग्रेसलाई भोट हाल्ने अवस्था बनाउन सबै एक भएर लागिपनुपर्ने उनको भनाई थियो । निराश हुनुपर्ने कुनै कारण नहरेको भन्दै उनले आफूहरु देश बनाउने अभियानमा लागिपरेको जानकारी दिए ।
पछिल्लो समय एक अर्कालाई आरोपप्रत्यारोप गर्ने र गालीगलौज गर्ने प्रवृत्ति बढेकोप्रति चिन्ता व्यक्त गर्दै महामन्त्री शर्माले राजनीतिको डिस्नेरीबाट ‘गाली’ शब्दलाई हटाउनुपर्ने जरुरी रहेको बताए । मनहरी क्षेत्रमा धेरै भूमिहीन सुकुम्बासी रहेको प्रसंगमा उनले सुकुम्बासीलाई लालपुर्जा दिलाउन लागिपर्ने प्रतिबद्धता जनाए । कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले व्यवस्था माथि आक्रमण हुन खोजेकोले एमालेसंगको गठबन्धन सरकार बनाइएको दावी गरे ।
राजनीति गर्नेले निराशाको कुरा गर्न नहुने भन्दै उनले समस्या भए समाधान गर्नुपर्ने सुझाव दिए । कांग्रेस एमालेले संविधान संशोधन गरेसँगै जनतामा थप भरोसा पलाउने बानियाँको दावी थियो । राजनीतिको आडमा गलत गर्ने नयाँ पुरानो जुनसुकै पार्टीको भएपनि कारबाहीको दायरामा आउनुपर्नेमा उनले जोड दिए । भूमिहीन सुकुम्बासीको लालपुर्जाको समस्या हल गर्न लागिपर्ने उनको पनि प्रतिबद्धता थियो । कार्यक्रममा मनहरी गाउँपालिकाका अगुवा कांग्रेस नेता कार्यकर्तालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा एमाले, माओवादीलगायतका दल परित्याग गरी १७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, निवर्तमान कार्यबाहक सभापति विष्णु लामिछाने, बागमती प्रदेशका पूर्व राज्यमन्त्री सन्त चेपाङ, मनहरी गाउँपालिका सभापति रञ्जन कालाखेती लगायतका करिब एक दर्जन नेताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

















