राष्ट्रिय दलित आयोगद्वारा प्रदेश प्रमुखलाई प्रतिवेदन हस्तान्तरण

हेटौँडा राष्ट्रिय दलित आयोग बागमती प्रदेशले आर्थिक वर्ष २०८०÷ ०८१ को प्रतिवेदन बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई बुझाएको छ । आयोगका प्रवक्ता सुन्दर पुर्कुटीले प्रदेश प्रमुख देवकोटालाई प्रतिवेदन बझाएको हो । नेपालको संविधानको धारा २९४ ९३० बमोजिम राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०८०÷०८१ प्रतिवेदन पेश गरेको हो ।

आयोगले ७ वटा परिच्छेद र ६ वटा अनुसूची समेटी तयार गरिएको प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा आयोगको परिचय, दलितको हक, हित र अधिकार सम्बन्धि व्यवस्था, दलितको अवस्था र राज्यका निकायमा प्रतिनिधित्व आयोगको वार्षिक कार्यक्रम कार्यान्वयनको स्थिती, आयोगका सिफारिस तथा सुझाव र कार्यान्वयनको अवस्था, आयोगका अवसर, चुनौती र भावी कार्यदिशा लगायतका विषय समेटिएको छ ।

नेपालको संविधान तथा कानुनमा दलित हक, हित सम्बन्धी भएका व्यवस्थाहरु, जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि ऐन, कानुनमार्फत भएका राज्यका प्रयासहरु, अन्य ऐन कानूनमा भएका दलित अधिकार सम्बन्धी व्यवस्था, जातीय भेदभाव अन्त्यका लागि सरकारका लोकप्रिय घोषणाहरु तथा दलित लक्षित कार्यक्रमहरुलाई पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

संविधान, ऐन, कानून मार्फत जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि जातीय आधारमा हुने सबै प्रकारका विभेद, कुरीति, अन्धविश्वास, अपराध, बहिष्करण, वञ्चितीकरण र हिंसालाई संवैधानिक र कानूनी रुपमा अन्त्य गर्दै सम्मानित जीवन यापन गर्न सक्षम तुल्याउन सरकारले लिएको नीति तथा तत्परतालाई प्रतिवेदनले समेटेको प्रवक्ता पुर्कुटीले बताए ।

राष्ट्रिय जनगणनामा दलित समुदायको संख्यात्मक अवस्थाको विवरण, वित्तीय संस्थाहरुको पहुँचबाट टाढा रहँदा भोग्नु परेको पीडा, मानव विकास सूचांक, वार्षिक आय, शिक्षा, स्वास्थ्य र सरसफाई क्षेत्रहरुमा अझै पनि दलित समुदायहरु पछाडि नै परेको उनले बताए । आयोगले पहिलो वार्षिक प्रतिवेदन २०७८ कार्तिक ११ गते, दोस्रो २०७९ मङ्सिर २५ गते, तेस्रो २०८० फागुन २३ गते गते पेस गरिसकेको भए पनि त्यस उपर सुनुवाइ नभएको भन्दै आयोगमा प्रवक्ता पुर्कुटीले अबको सरकारले यसमा ध्यान दिने अपेक्षा प्रकट गरे ।

प्रतिवेदन ग्रहण गर्नुहुँदै प्रदेश प्रमुख देवकोटाले दलितको सवालमाथि सकारात्मक सन्देश कार्यन्वयनमा ल्याउनको लागि सरकारलाई प्रेरित गर्ने बताए । राष्ट्रिय जनगणना, २०७८ अनुसार बागमती प्रदेशको कुल जनसंख्या ६१ लाख १६ हजार ८ सय ६६ जना मध्ये दलितको जनसंख्या ३ लाख ५९ हजार ५ सय ११ जना रहेका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.