मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार अनिल अग्रवालसँग गरिएको कुराकानीको सम्पादित अंश ।
सवालः यहाँले यही पुष २४ गतेदेखि २७ गतेसम्म हुने उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ । यहाँको उम्मेदवारी किन ?
जवाफः धन्यवाद, निकै राम्रो र गहकिलो प्रश्न गर्नुभयो । मकवानपुर उद्योग वाणिज्य संघमा करिब १७ वर्ष अगाडि आमन्त्रित सदस्य भएर म प्रवेश गरेको थिएँ । त्यसपश्चात मैले ३ कार्यकाल सदस्य, ३ कार्यकाल सह–कोषाध्यक्ष र बरिष्ठ उपाध्यक्ष भएर आफ्नो भूमिका निर्वाह गरेँ । बरिष्ठ उपाध्यक्षपश्चात् अब बाँकी रहेको पद भनेको अध्यक्ष पद नै हो । त्यसकारण मेरो उम्मेदवारी स्वभाविक छ ।
म व्यवस्थायीहरुको मर्म, भावना बुझ्न सक्छु । उनीहरुको समस्यालाई मैले नजिकैबाट बुझेको छु । समस्या समाधानको लाई विगतमा चालेका पाइला पर्याप्त छैन । अझै पाइला चाल्नुपर्ने छ । व्यवसायीहरुको हकहित एवम् प्रवद्र्धनको लागि संघबाट गर्न सकिने गतिविधि बारे म जानकार छु । त्यसकारण एक पटक नेतृत्वमा नै रहेर काम गर्ने मेरो चाहाना छ । आशा छ, सबै उद्योग व्यवसायीज्यूहरुले मलाई विश्वास गरेर यस पटक सहयोग गर्नुहुन्छ ।
सवालः तपाईँ निर्वाचित हुनुभयो भने जिल्लामा रहेका उद्योगी व्यवसायीहरुको हितका लागि के कस्ता कामहरु गर्नुहुन्छ ?
जवाफः म मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष भएपछि मैले सबैभन्दा पहिला संस्थाको गरिमा उच्च राख्ने गरी काम गर्छु । हामीले देखिरहेका छौँ, व्यवसायीहरुले निकै दुख पाइरहनुभएको छ । चाँहे त्यो करको विषयमा होस्, अनुगमनको विषयमा होस्, संस्थाको विधानको विषयमा होस्, चाँहे नाप तौलको विषयमा होस् । समस्या धेरै छन् । ती समस्या समाधानको भरपुर प्रयास गर्नेछु । व्यवसायीहरु डर, त्रासमुक्त हुनेछन् । म विगतमा कर संयोजक थिएँ । त्यतिबेला व्यवसायीहरुले निकै समस्या झेलिरहनुभएको थियो । मैले समस्या समाधानको लागि भरपुर प्रयास गरेँ । धेरै व्यवसायीहरुलाई जरीवाना हुनबाट हामीले जोगाएका छौँ । कर सचेतना अभियान संचालन गरेका थियौँ । त्यसकारण यहाँको प्रश्नको उत्तर निचोडमा भन्नुपर्दा मेरो पहल संघको संस्थागत विकास र उद्योगी व्यवसायीको हितका लागि हुनेछ ।
सवालः यहाँले करिब १७ वर्ष उद्योग वाणिज्य संघमा बसेर काम गरेँ भन्नुभयो । वरिष्ठ उपाध्यक्षसम्म हुँदा यहाँको तर्फबाट उद्योगी व्यवसायीहरुको हकहितका लागि के काम भए त ?
जवाफः उद्योग वाणिज्य संघमा आवद्ध हुँदा व्यवसायीहरुको हकहितका लागि धेरै महत्वपूर्ण कामहरु गरेका छौँ । व्यवसायीहरुका लागि वीरगञ्ज नापतौल कार्यालयका कर्मचारीलाई हेटौंडामा बोलाएर व्यावसायीहरुको काममा सहजीकरण गरेका छौँ । हामीले बजारमा व्यवसायीहरुलाई करको विषयमा जानकारी गराउने काम गर्यौँ । मकवानपुरमा व्यवसायीहरु आन्तरिक राजस्व कार्यालयको अधिकृतसँग निडर भएर कुराकानी गर्ने वातावरण हामीले बनाएका छौँ । कर कार्यालयमा उद्योग वाणिज्य संघको तर्फबाट एउटा हेल्प डेक्स राखेका छौँ । वर्षमा ३ महिना राखिने हेल्प डेक्स यस वर्ष झण्डै १०–११ महिना नै राख्यौँ । हामीले व्यवसायी र व्यवसायीको हकमा धेरै नै काम गरिरहेका छौँ । नगरपालिकाको बैठकमा गएर राजस्व, राज्यको नीति निर्माणको विषयमा पनि धेरै कामहरु भएका छन् ।
ल्याएको छु । म काम गर्छु, काम गर्न सक्छु । एक पटक सबैले विश्वास गरिदिनुहोस् भन्ने अपेक्षा गर्दछु । यहाँहरुको मन मत दुवै पाउँछु भन्ने विश्वास छ ।
सवालः अन्तरवार्ताको अन्त्यमा के भन्न चाहानुहुन्छ ?
जवाफः मउवा संघको अध्यक्ष पदका लागि मेरो मित्र प्रमोद सिंह रानाभाट पनि उभिनुभएको छ । हामीबीच कुनै किसिमको आरोप प्रत्यारोप छैन । पदमा रहेर काम गर्छु भनेर हिम्मत देखाउनु राम्रो हो । हामी दुवै जना व्यवसायीमाझ पुगेर आफ्ना योजना सुनाउँछौँ । आधार देखाउँछौँ । मतदान व्यवसायीको अधिकार हो । उहाँहरुलाई जो व्यक्ति समक्ष लाग्छ उहाँलाई नै रोज्नुहुन्छ ।
म विभिन्न संघसंस्था हुँदै मकवानपुर उद्योग वाणिज्य संघमा आवद्ध छु । विगतमा मेरो आदरणीय बुवा स्व. इश्वरचन्द्र अग्रवाल पनि दुई पटक मउवा संघको सदस्य हुनुभएको थियो । एक पटक अध्यक्षको उम्मेदवार हुँदा उहाँ पराजित हुनुभएको थियो । उहाँको अध्यक्ष निर्वाचित भएर उद्योगी व्यवसायीलाई सेवा गर्ने सपना पूरा गर्नको लागि पनि म अध्यक्ष हुनुपर्ने छ । त्यसकारण म र मेरो टिम व्यवसायीको हितको योजना लिएर आएको छ । विश्वास गरेर निर्वाचित गराइदिनुहुनेछ भन्ने अपेक्षा गरेको छु ।

















