हेटौंडा। रियल म्याड्रिड फ्यान क्लब नेपाल (हेटौंडा) छैठौं इन्ट्रा म्याड्रिस्टा फुटसल प्रतियोगिताको पुरुषतर्फ च्याम्पियन बनेको छ । रियल मड्रिड फ्यान क्लब नेपाल (काठमाडौं) द्वारा २२ मंसिरमा आयोजित प्रतियोगिताको फाइनलमा हेटौंडाले पोखरालाई पराजित गर्दै च्याम्पियन बनेको हो ।
डिफेण्डिङ च्याम्पियन्स समेत बनेका गत वर्षको विजेता रियल म्याड्रिड फ्यान क्लब नेपाल हेटौंडा यस पटक पनि आफ्नो उपाधी जोगाउन सफल भएका हुन् । लिग स्वरुपको प्रतियोगितामा हेटौंडा सहित नेपालभरका रियल म्याड्रिड फ्यान क्लब नेपालका ८ आधिकारिक शाखाशहरु सहभागी थिए । जसमा हेटौंडा सहित बुटवल, चितवन, काठमाडौं, पोखरा, नुवाकोट, जुम्ला र प्रदेश–१ का टोलीहरुले प्रतिस्पर्धा गरे ।
भिजननोभा फुटसल, बल्खुमा सम्पन्न प्रतियोगिताको महिलातर्फ आफ्नै ‘ए’ टोलीलाई हराउँदै काठमाडौं ‘बी’ च्याम्पियन बन्यो । प्रतियोगितामा महिलातर्फ दुई टोलीले प्रतिस्पर्धा गरेका थिए । पुरुषतर्फका सुवास गुरुङ सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता, सुजल मोक्तान उत्कृष्ट गोलकिपर, रोजेल दाहाल उदीयमान खेलाडी र मनिष भट्टराई उत्कृष्ट प्रशिक्षक चुनिए ।
यस्तै महिलातर्फ रेजिना दर्लामीमगर सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता, प्रजिता बजगाईँ उत्कृष्ट गोलकिपर, प्रतिभा लिम्बु उदीयमान खेलाडी र अंकित दवाडी उत्कृष्ट प्रशिक्षक बने । विजेतालाई नेपाली राष्ट्रिय फुटसल टोलीका कप्तान मणिकुमार लामा, कमेन्टेटर अभिनव जोशी, राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी विक्रम लामालगायतले पुरस्कार वितरण गरेका थिए ।


















