हेटौंडामा ट्यांकरको चक्कामा मोटरसाइकल ठोक्किँदा दुई घाइते, एकको अवस्था गम्भीर

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–४ नारायणी मलनजिक पूर्व–पश्चिम महेन्द्र राजमार्गमा ट्यांकरको चक्कामा मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

शनिबार दिउँसो करिब २ बजेर २० मिनेटमा कर्रातर्फबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बा ६१ प २२६० नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो । प्रहरीका अनुसार मोटरसाइकलले आफूभन्दा अगाडि सोही दिशातर्फ गइरहेको अर्को मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख ५२३२ नम्बरको खाली ट्यांकरको अगाडिको चक्कामा ठक्कर दिएको थियो ।

ठक्करपछि मोटरसाइकल ट्यांकरको पछाडिको चक्कामा समेत परेको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार हेटौंडा–११ शान्तिचोकका २३ वर्षीय कबिन सरकार गम्भीर घाइते भएका छन् । उनको टाउको र घाँटीमा चोट लागेको छ ।

मोटरसाइकल चालक हेटौंडा–११ नवलपुरका करिब २५/३० वर्षीय रोहित बिडारीको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय हेटौंडाबाट ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले दुवै घाइतेको उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाएको छ ।

प्रहरीले दुर्घटनामा संलग्न दुवै सवारीसाधन नियन्त्रणमा लिएको छ । ट्यांकर चालक पर्साको जगरनाथपुर गाउँपालिका–४ का २३ वर्षीय विशाल यादवलाई समेत नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.