राक्सिराङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत राक्सिराङ गाउँपालिकाको सभापति पदका लागि देव लामाले आफ्नो दाबी प्रस्तुत गरेका छन्। अधिवेशन–२०८३ लाई लक्षित गर्दै लामाले पार्टी संगठन सुदृढीकरण, सबै वर्गको सहभागिता र युवाको नेतृत्व विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्।
लामाले किसान, मजदुर, व्यवसायी लगायत सबै वर्गको हितमा काम गर्दै स्थानीय विकास र सेवामुखी पार्टी संगठन निर्माण गर्ने बताएका छन्। उनले राक्सिराङलाई समृद्ध, न्यायपूर्ण र सुशासनयुक्त बनाउन कांग्रेसको नेतृत्वदायी भूमिका आवश्यक रहेको उल्लेख गर्दै संगठनलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
सभापति पदका लागि लामासहित रामकृष्ण चेपाङ, रामकुमार थिङ, मोहन नगरकोटी, महेश चेपाङ र कोपिला गोलेलगायतले दाबी प्रस्तुत गरेको बताइएको छ। लामाले ‘एकता, विकास, न्याय र समृद्धि’लाई मुख्य आधार बनाएर पार्टीलाई बलियो बनाउँदै राक्सिराङको विकास र समृद्धिका लागि काम गर्ने बताएका छन्।














