मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित दक्षिणकाली सडकखण्डमा ईभी गाडीमा सवार रहेका १९ वर्षीय युवकको उपचारका क्रममा मृत्यु भएको छ।
सोमबार बिहान करिब ९ः३० बजे वीरगञ्जबाट काठमाडौं जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०७७५ नम्बरको ईभी गाडीमा सवार बारा, सिम्रनगढ नगरपालिका–११ निवासी करिब १९ वर्षीय प्रदीप पटेल सिस्नेरीको टेकरमा पुगेपछि अचानक बेहोस भएका थिए।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पटेललाई तत्काल उपचारका लागि स्वास्थ्य चौकी सिस्नेरी पुर्याएको थियो। सामान्य उपचारपछि उनी बोल्न सक्ने अवस्थामा आएका थिए। त्यस क्रममा उनले आफूलाई श्वास फेर्न गाह्रो भइरहेको बताएका थिए।
स्वास्थ्य चौकीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई काठमाडौं पठाइएको थियो। काठमाडौंको बल्खुस्थित बयोधा अस्पतालमा चेकजाँचका क्रममा बिहान ११ः०३ बजे चिकित्सकले पटेललाई मृत घोषणा गरेको प्रहरी वृत्त बल्खुले जनाएको छ।
प्रहरीका अनुसार पटेलसँग ईभी गाडीमा उनका आफन्त वा चिनजानका अन्य व्यक्ति थिएनन्। घटनापछि प्रहरीले उनका भाइ सन्दीप पटेलसँग फोनमार्फत समन्वय गरेको थियो।
ईभी गाडी र चालक हाल प्रहरी चौकी सिस्नेरीको नियन्त्रणमा छन्। गाडी चालक बारा, कलैया उपमहानगरपालिका–१९ निवासी करिब २९ वर्षीय तितेश राउत कुर्मी रहेको प्रहरीले जनाएको छ। चालकसँग सवारी चालक अनुमतिपत्र रहेको र प्रारम्भिक जाँचमा उनले मादक पदार्थ सेवन नगरेको पाइएको छ।
युवकको मृत्युको कारण भने तत्काल खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।














