हेटौंडा-काठमाडौं सडकखण्डमा सवारी जाम, एक घण्टापछि खुल्यो

मकवानपुर । हेटौंडा–काठमाडौं जोड्ने छोटो दूरीको सडकअन्तर्गत भीमफेदी गाउँपालिका–१ क्षेत्रमा करिब ४–५ किलोमिटर लामो सवारी जाम लागेको छ। साँघुरो सडकमा दूध बोकेको ट्यांकरले ओभरटेक गर्न खोज्दा सवारी आवागमन प्रभावित भएपछि जाम भएको हो।

जामका कारण यात्रुबाहक बस, सुमो तथा विद्युतीय सवारी, मालवाहक गाडी र मोटरसाइकलसहितका सवारीसाधन लामबद्ध भएका थिए। करिब एक घण्टासम्म लागेको जाम ट्राफिक प्रहरीको समन्वयमा सवारी व्यवस्थापन गरेपछि खुलेको हो।

पछिल्लो समय धादिङको पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा सडक भासिएर मुख्य राजमार्ग अवरुद्ध भएपछि हेटौंडा–काठमाडौं आवतजावत गर्ने सवारीसाधन वैकल्पिक मार्गतर्फ मोडिएका छन्। त्यसको प्रत्यक्ष असर भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकमा परेको छ।

साँघुरो तथा घुमाउरो सडकमा सामान्य अवस्थाको तुलनामा सवारीको चाप अत्यधिक बढेपछि विभिन्न स्थानमा जाम हुने गरेको छ। एउटै सडकमा यात्रुबाहक, मालवाहक, सुमो, विद्युतीय सवारी तथा मोटरसाइकलको चाप बढ्दा आवागमन प्रभावित हुने गरेको हो।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि हेटौंडा हुँदै काठमाडौं जाने यात्रु तथा मालवाहक सवारीको चाप वैकल्पिक सडकमा बढेको छ। सवारीको चाप बढेसँगै भीमफेदी खण्डमा समेत जामको जोखिम बढेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.