मकवानपुर । मकवानपुरमा बुधबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जना घाइते भएका छन्। हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा भएका दुर्घटनामा दुई मोटरसाइकल चालक र एक पैदलयात्री घाइते भएका हुन्।
बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार हेटौंडा उपमहानगरपालिका–१० राममन्दिर मोडमा बुधबार राति करिब ९ बजे दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जना घाइते भएका छन्। बसपार्कबाट भुटनदेवी मोडतर्फ जाँदै गरेको ना.३२ प ९४१३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना.६३ प ७७३३ नम्बरको मोटरसाइकल ठोक्किँदा ७७३३ नम्बरका चालक हेटौंडा–८ ओमनगरका करिब २५ वर्षीय विष्णुप्रसाद चौलागाईं घाइते भएका हुन्।
दुर्घटनामा चौलागाईंको टाउको र दाहिने खुट्टामा चोट लागेको छ। स्थानीयले उनलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्याएका थिए। प्रहरीका अनुसार चौलागाईंले मादक पदार्थ सेवन गरेका थिए। दुर्घटनामा संलग्न ९४१३ नम्बरको मोटरसाइकल चालक भने सम्पर्कमा आएका छैनन्। दुवै मोटरसाइकलमा क्षति पुगेको छ।
यसैगरी, मनहरी गाउँपालिका–८ सिमपानीमा बुधबार साँझ करिब ५ बजे सडकको बीचमा रहेको खाल्डोमा परी स्कुटर दुर्घटना हुँदा एक जना घाइते भएका छन्। हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना.४२ प २६३० नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा चितवन भरतपुर महानगरपालिका–११ का करिब ४० वर्षीय राजेश सिलवाल घाइते भएका हुन्।
सिलवालको अनुहारमा चोट लागेको छ। उनलाई मनहरी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुरस्थित नारायणी सामुदायिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनामा स्कुटरमा क्षति पुगेको छ।
त्यस्तै, मनहरी–८ सिमपानीमै बुधबार दिउँसो करिब १ः१० बजे ट्रकको ठक्करबाट ९० वर्षीय पैदलयात्री घाइते भएका छन्। चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना.५ ख ५७३८ नम्बरको ट्रकले स्थानीय ९० वर्षीय सिताराम उप्रेतीलाई ठक्कर दिएको हो।
दुर्घटनामा उप्रेतीको टाउको र दाहिने हातमा चोट लागेको छ। उनलाई मनहरी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज पठाइएको छ। ट्रक चालक चितवन राप्ती नगरपालिका–१ का ३३ वर्षीय जगत उप्रेतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालकले मादक पदार्थ सेवन नगरेको र आवश्यक कागजात रहेको प्रहरीले जनाएको छ।














