भोटेकोसी बाढीपीडितका लागि कैलाश गाउँपालिकाले पाँच लाख दिने

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले रसुवा जिल्लामा आएको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

भाद्र १० गते चीनको तिब्बत क्षेत्रहुँदै आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङका नागरिकले भोग्नुपरेको क्षतिप्रति दुःख व्यक्त गर्दै विपदमा परेका नागरिकलाई स्थानीय सरकारको तर्फबाट सहयोग गर्न लागिएको गाउापालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताए । मुक्तानले विपद्का बेला एक ठाउँका नागरिकलाई परेको पीडा सबैको साझा पीडा भएकाले मानवीय सहयोग आवश्यक रहेको बताए ।

“रसुवामा बाढीका कारण नागरिकले ठूलो क्षति व्यहोर्नुपरेको छ । यस्तो दुःखद् अवस्थामा कैलाश गाउँपालिका पीडित नागरिकको साथमा छ । हामी स्थानीय सरकारको नाताले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गर्ने भएका छौं,”अध्यक्ष मुक्तानले भने । उनले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि राज्यका सबै तह र आम नागरिकबीच सहकार्य आवश्यक रहेको बताए ।

विपद्मा सहयोग गर्नु मानवीय दायित्वसमेत भएकाले गाउँपालिकाले आफ्नो तर्फबाट सहयोग गर्न लागिएको उनको भनाइ छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सीताकुमारी खत्रीले पाँच लाख रकम एकमुष्ट रूपमा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिने बताइन् ।

विपद्को समयमा तत्काल राहत र सहयोगको आवश्यकता हुन्छ । रसुवाका बाढीपीडित नागरिकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले रकम सहयोग गर्न लागिएको उनले बताइन् । हामीले कर्मचारीको तर्फबाट पनि रकम संकलन गरि सहयोग गरिने बताइन् ।

कैलाश गाउँपालिकाले विपद् परेका नागरिकको उद्धार तथा राहतका लागि सरकारी निकाय, सामाजिक संघसंस्था र आम नागरिकलाई समेत आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेको छ । प्रभावित क्षेत्रमा कैलाश गाउँपालिकाबासीहरु पनि रहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.