हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१७ खमारेमा मोटरसाइकल दुर्घटना हुँदा चालक घाइते भएका छन्।
शनिबार साँझ हेटौंडाबाट हटियातर्फ जाँदै गरेको प्रदेश ३–०२–०१३ प ३३८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिँदा चालक भक्तपुरको सूर्यविनायक नगरपालिका घर भई हाल हेटौंडा–१६ चिसापानी खमारे टोलमा बस्दै आएका २५ वर्षीय रुकेश ढकाल घाइते भएका हुन्।
दुर्घटनामा ढकालको दुवै हात, खुट्टा तथा शरीरमा भित्री चोट लागेको र अवस्था मध्यम रहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ। उनलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको छ। उपचारमा उनका मामा विनय दुलाल संलग्न छन्।
प्रहरीका अनुसार दुर्घटनाका बेला चालकले मादक पदार्थ सेवन गरेको पाइएको छ। चालकसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) समेत नभएको जनाइएको छ। ढकाललाई छारे रोगसमेत रहेको बुझिएको प्रहरीले जनाएको छ।
घटनापछि अस्थायी प्रहरी पोस्ट हटियाबाट प्रहरी नायब निरीक्षक राजेन्द्रबहादुर कुमालको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। मोटरसाइकलमा सामान्य क्षति पुगेको छ भने मोटरसाइकल प्रहरीको नियन्त्रणमा राखिएको छ।














