साविक च्याम्पियन हेटौंडा लाङजिङसँग ६–१ ले लज्जास्पद हार

हेटौंडा । भारतको पश्चिम बंगाल प्रदेशअन्तर्गत कालिम्पोङ जिल्लाको मुनसोङमा जारी ८०औँ इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगितामा लगातार दुईपटक उपाधि जितेको साविक विजेता हेटौंडा फुटबल एकेडेमी लज्जास्पद हार व्यहोर्दै सेमिफाइनलबाटै बाहिरिएको छ।

मुनसोङ स्पोर्टिङ क्लबको आयोजनामा मंगलबार भएको सेमिफाइनलमा हेटौंडालाई लाङजिङ ब्वाइजले ६–१ गोलको फराकिलो अन्तरले पराजित गरेको हो। खेलको सुरुआतदेखि नै हेटौंडामाथि दबाब बनाएको लाङजिङले पहिलो हाफमै २–० को अग्रता बनाएको थियो।

दोस्रो हाफमा थप चार गोल गर्दै लाङजिङले हेटौंडामाथि ६–१ को प्रभावशाली जित निकाल्यो। हेटौंडाले एक गोल फर्काए पनि खेलमा फर्किन सकेन। सेमिफाइनलअघि हेटौंडाले प्रतियोगितामा लगातार तीन फराकिलो जित निकालेको थियो। पहिलो खेलमा माम्रिङ ब्वाइजलाई ८–१ ले हराएको हेटौंडाले दोस्रो खेलमा हाइल्याण्डर वारियरमाथि १३–२ को जित निकालेको थियो। क्वार्टरफाइनलमा फारम ब्वाइजलाई ८–१ गोलले पराजित गर्दै हेटौंडा सेमिफाइनल पुगेको थियो।

तर, उपाधिको सबैभन्दा नजिक पुगेको खेलमा भने हेटौंडाले आफ्नो लय कायम राख्न सकेन। लगातार दुईपटक उपाधि उचालेको हेटौंडाको यस वर्ष उपाधिमा ह्याट्रिक गर्ने सपना सेमिफाइनलमै चकनाचुर भएको छ। हेटौंडा तीन वर्षदेखि मुनसोङमा आयोजना हुँदै आएको प्रतियोगितामा सहभागी हुँदै आएको छ। पहिलो वर्ष उपविजेता बनेको हेटौंडाले त्यसपछिका दुई वर्ष लगातार उपाधि जितेको थियो।

यस वर्ष सिक्किममा आयोजना भएका तीन फरक फुटबल प्रतियोगितामा सहभागी भएको हेटौंडा तीनै प्रतियोगिताबाट बाहिरिएको छ। जुलाई २६ देखि सुरु भएको प्रतियोगिताको फाइनल खेल अगस्ट १५ अर्थात् भारतको स्वतन्त्रता दिवसका दिन हुनेछ।

प्रतियोगिताको विजेताले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र र उपविजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.