हेटौंडा । मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा यस पटक राजनीतिक समीकरण फेरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रकाश गौतम भारी मतान्तरसहित विजयी हुँदै संघीय संसद् प्रवेश गरेका छन् ।
हेटौंडा उपमहानगरपालिका–५ निवासी ३७ वर्षीय गौतमले ३६ हजार ३३ मत प्राप्त गर्दै जीत हात पारेका हुन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ लाई फराकिलो मतान्तरले पराजित गरेकी हुन्। डिनाले १४ हजार ३८ मत प्राप्त गरेकी छन्।
यस्तै, नेकपा एमालेका उम्मेदवार रामेश्वर राना तेस्रो स्थानमा रहे । उनले १२ हजार ७८३ मत प्राप्त गरे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विजय गौतमले १० हजार ७८८, उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामाले १० हजार २०५ तथा श्रम संस्कृति पार्टीकी विद्या श्रेष्ठले १ हजार २४ मत प्राप्त गरेका छन्।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपकबहादुर सिंहले ४ हजार ५७४ मत मात्र प्राप्त गरे । अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका सिंह यस पटक भने छैटौं स्थानमा सीमित भएका हुन् ।
निर्वाचन आयोगका अनुसार मकवानपुर–१ मा कुल ९५ हजार ३ सय १० मत खसेको थियो । यस परिणामसँगै मकवानपुर–१ मा मतदाताको झुकावमा परिवर्तन देखिएको विश्लेषण गरिएको छ ।
नयाँ शक्तिको रूपमा उदाएको रास्वपाका उम्मेदवार गौतमको जितले यहाँको राजनीतिक समीकरण नै बदलिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।
यसैबीच, नेकपा एमालेका राना संघीय संसद् प्रवेश गर्ने दोस्रो प्रयासमा पनि असफल भएका छन् भने नेपाली कांग्रेसकी डिनाले पनि लगातार पाँचौं पटक प्रत्यक्ष निर्वाचनमा हार व्यहोरेकी छन्।

















