हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले महिला अधिकार, समानता र सशक्तीकरण सुनिश्चित गर्न राज्यका सबै निकाय तथा सरोकारवालाहरू एकजुट भएर काम गर्नुपर्नेमा जोड दिएका छन् ।
मुख्यमन्त्री बानियाँले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै यतो आग्रह गरेका हुन् । उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, महिला अधिकारकर्मी तथा महिला हक–अधिकारको संरक्षण र प्रवद्र्धनमा सक्रिय सबैलाई शुभकामना व्यक्त गरे ।
सन्देशमा उनले महिलाको आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा भएको योगदान उल्लेख गर्दै महिलाको प्रविधिमा पहुँच विस्तार, सशक्तीकरण अभिवृद्धि तथा लैङ्गिक असमानता र हिंसा अन्त्य गर्न आवश्यक रहेको बताएका छन् ।
यस वर्ष अन्तर्राष्ट्रिय महिला दिवसको अन्तर्राष्ट्रिय नारा “अधिकार, न्याय, कार्य, सबै महिला र केटीहरूको लागि” रहेको उल्लेख गर्दै उनले सबै महिला र बालिकाका लागि अधिकार, न्याय र अवसर सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याए ।
समाजमा अझै पनि कायम रहेका कुरीति तथा कुप्रथाहरू—जस्तै बोक्सी आरोप, छाउपडी, बालविवाह, दाइजो र तिलकजस्ता अभ्यासले महिला तथा बालिकामाथि हुने हिंसा अन्त्य गर्न थप प्रभावकारी कार्यक्रम आवश्यक रहेको उनको भनाइ छ ।
मुख्यमन्त्री बानियाँले शिक्षा, स्वास्थ्य, रोजगारी, निर्णय प्रक्रिया र राजनीतिजस्ता क्षेत्रमा महिलाको समान पहुँच सुनिश्चित गर्दै लैङ्गिक समानतायुक्त समाज निर्माण गर्न सबैको सहकार्य आवश्यक रहेको पनि बताए ।
साथै, अन्तर्राष्ट्रिय महिला दिवसले महिला अधिकार, समानता र सशक्तीकरणका लागि थप प्रतिबद्ध भएर काम गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास उनले व्यक्त गरे ।















