बागमती प्रदेशको ६ सांसद् पद रिक्त

हेटौंडा । बागमती प्रदेशको ६ जना प्रदेश सांसद् पद रिक्त भएको छ । बागमती प्रदेश सभा सचिवालले स्थान रिक्तता सम्बन्धी सूचना जारी गर्दै प्रदेश सभा सदस्यको स्थान रिक्त भएको जानकारी दिएको हो ।

प्रदेश सभाका सचिव रामकुमार पौडेलले प्रदेश सभा सदस्यहरुले पदबाट राजीनामा दिएसँगै प्रदेश सभा सदस्यको स्थान रिक्त भएको जानकारी दिए । उनले नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक/एक, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका २/२ जना गरी ६ जना प्रदेश सभा सदस्यले सोमबारबाट लागू हुने गरी प्रदेश सभाको सदस्य पदबाट राजीनामा दिएको बताए ।

सचिव पौडेलले प्रदेश सभा नियमावली २०७४ को नियम १८५ को उपनियम (२) बमोजिम प्रदेश सभा सदस्यको स्थान रिक्त भएको भन्दै स्थान रिक्त भएको बारेमा निर्वाचन आयोग र मुख्यमन्त्रीको कार्यालयमा जानकारी पत्र पठाइएको बताए । निर्वाचन आयोगमा पत्र पुगेसँगै उपनिर्वाचनका लागि आयोगले आवश्यक प्रक्रिया अगाडि बढाउने छ ।

प्रदेश सभा सदस्यमा २०७९ को निर्वाचनमा दोलखा १ (क) बाट निर्वाचित कांग्रेसका कुन्दनराज काफ्ले, काठमाडौँको ६ (ख) बाट निर्वाचति एमालेका अमनकुमार मास्के र काठमाडौँको ७ (ख) बाट निर्वाचत प्रकाश श्रेष्ठले प्रदेश सभा सदस्य पदबाट सोमबारबाट लागू हुने गरी राजीनामा दिएका थिए । सिन्धुपाल्चोक क्षेत्र नं २ (क) बाट निर्वाचित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का युवराज दुलाल, काठमाडौँको ७ (क) बाट निर्वाचित नेकपाका वसन्तप्रसाद मानन्धर र काठमाडौँको २ (क) बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका सुनिल केसीले सोमबार उपसभामुख अप्सरा चापागाईं समक्ष राजीनामा बुझाएका थिए ।

दुलाल तत्कालीन नेकपा माओवादी केन्द्बाट र मानन्धर तत्कालीन नेकपा एकीकृत समाजवादीबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । प्रदेश सभा सदस्यबाट राजीनामा दिएका केसी बाहेक ५ जनाले बागमती प्रदेशमा विभिन्न मन्त्री पदमा बसेर काम गरिसकेका थिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.