हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले संविधानको संरक्षण र प्रभावकारी कार्यान्वयनका लागि सबै तहका सरकार, सरोकारवाला निकाय र नागरिक एकजुट हुनुपर्नेमा जोड दिएका छन् । आज बिहीबार संविधान दिवस २०८२ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो जोड दिएका हुन् ।
उनले संविधानलाई मुलुकको मूल कानुन मात्र नभई लोकतान्त्रिक मूल्य र गणतान्त्रिक अभ्यासलाई संस्थागत गर्ने आधारभूत दस्तावेजको रूपमा व्याख्या गर्दै यसलाई व्यवहारमा उतार्न सबैले जिम्मेवारीपूर्वक योगदान दिनुपर्ने बताए ।
सन्देशमा प्रदेश प्रमुख देवकोटाले २०७२ साल असोज ३ गते जारी संविधानले नेपाली जनताको दशकौँको संघर्ष, बलिदान र आन्दोलनको उपलब्धिलाई मूर्त रुप दिएको स्मरण गरेका छन् । संविधानले समानता, मौलिक अधिकार, सामाजिक न्याय, समावेशी राज्यव्यवस्था र लोकतान्त्रिक संस्थागत विकासलाई सुनिश्चित गरेको भन्दै उनले यसका प्रावधानलाई कार्यान्वयनमा ल्याउनु आजको प्रमुख आवश्यकता भएको औंल्याए ।
उनले राष्ट्रिय एकता, सामाजिक सद्भाव र समृद्ध नेपालको निर्माणका लागि संविधानलाई मार्गदर्शक दस्तावेजका रूपमा ग्रहण गर्न सबैलाई आह्वान गर्दै संविधान दिवस ÷ राष्ट्रिय दिवस २०८२ ले सबैमा नयाँ उत्साह, विश्वास र एकताको भावना जगाउने विश्वास व्यक्त गरेका छन् ।















