जेनजी युवाहरूद्वारा हेटौँडामा प्रदर्शन, मुख्यमन्त्रीको घरसहित विभिन्न सरकारी निवासमा आगलागी

हेटौँडा । सोमबार र मंगलबार दिनभर उग्र प्रदर्शन गरेका जेनजी प्रदर्शनकारीहरूले अहिले विजय उत्सव मनाउन थालेका छन् । सामाजिक सञ्जाल बन्दको विरोधमा सुरु गरिएको प्रदर्शन हिंसात्मक बनेपछि सोमबार १९ जनाको मृत्यु भएको थियो ।

त्यसपछि झनै आक्रोशित भएका जेनजी युवाहरू आज पनि हेटौँडासहित देशका मुख्य–मुख्य स्थानमा प्रदर्शनमा उत्रिएका थिए । जेनजी आन्दोलन उग्र बन्दै गएपछि बागमती प्रदेश सभामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सभामुख भुवन कुमार पाठकसहित १३ सदस्यले पदबाट राजीनामा दिएका छन् ।

प्रदर्शनकारीहरुले बागमती प्रदेश सभा भवन, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले निजी निवास, हेटौंडा–१ चौकीटोलमा रहेका पाँच मन्त्रालयको भवन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको कार्यालय, हेटौँडा–२ स्थित आन्तरिक मामिला तथा कानून मन्त्रालय, हेटौँडा उपमहानगरपालिका, जिल्ला समन्वय समिति मकवानपुरको कार्यालय, नेपाली कांग्रेस मकवानपुरको कार्यालय, नेकपा एमालेको कार्यालय, माओवादी केन्द्र मकवानपुरका कार्यालयलगायत विभिन्न सरकारी कार्यालय तथा भवनहरूमा आगजनी गरिएको थियो ।

अहिले पनि कतिपय ठाउँमा प्रदर्शन रोकिएको छैन । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडामा पनि आज राती १२ बजेसम्मका लागि पूर्वतर्फ सानोपोखरा पुल, पश्चिममा राप्तीपुल, उत्तरमा चौकीटोलस्थित अस्थायी प्रहरी पोष्ट र दक्षिणतर्फ वनविज्ञान अध्ययन संस्थानको गेटसम्म कफ्र्यु आदेश जारी गरेको छ ।

कफ्र्यु आदेश जारी गरिएको क्षेत्रमा आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने उल्लेख गरिएको छ । हालै भ्रष्टाचारविरुद्ध उत्रिएको जेन–जी पुस्ताको आन्दोलनलाई नेपाल प्रेस युनियन मकवानपुरले समर्थन जनाएको छ । हेटौँडा उपमहानगरपालिकाले सोमबार भएको घटनालाई मध्यनजर गर्दै मङ्गलवार एक दिनका लागि नगरभरका सबै विद्यालय बन्द गर्ने भएको छ । साथै परिस्थितिलाई संवेदनशील ढङ्गले समाधान गर्न सबै पक्षलाई आग्रह समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.