हेटौँडा । बागमती प्रदेश सरकारले संविधान दिवसलाई यस वर्ष तीन दिनसम्म उत्सवका रूपमा मनाउने भएको छ । असोज १ गतेदेखि ३ गतेसम्म विभिन्न कार्यक्रममार्फत संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ मनाइने भएको हो ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको प्रदेशस्तरीय मूल समारोह समिति गठन तथा कार्यक्रम व्यवस्थापनसम्बन्धी बैठकले संविधान दिवसलाई भव्य रूपमा मनाउने निर्णय गरेको हो । बैठकले मुख्यमन्त्रीको नेतृत्वमा ४३ सदस्यीय मूल समारोह समिति समेत गठन गरेको छ ।
कार्यक्रमअनुसार असोज १ गते ‘संविधानः सबल राष्ट्र निर्माणको आधार’ विषयक विद्यालयस्तरीय निबन्ध प्रतियोगिता, साथै युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा विविध खेलकुद प्रतियोगिता हुने छन् ।
त्यसैगरी असोज २ गते रक्तदान र वृक्षारोपण कार्यक्रम आयोजना गरिनेछ । संविधान दिवसको मुख्य दिन असोज ३ गते हेटौँडा नगर क्षेत्रमा विशेष सरसफाइ अभियान सञ्चालन हुने छ भने भुटनदेवी माध्यमिक विद्यालयबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म प्रभातफेरी गरिने कार्यक्रम तय भएको छ ।
सोही दिन आयोजना हुने औपचारिक कार्यक्रममा प्रदेश प्रमुख प्रमुख अतिथि रहनेछन् भने सभामुख विशेष अतिथि हुनेछन् ।
मुख्यमन्त्री बानियाँले संविधानलाई अझ व्यवस्थित बनाउन केही प्रावधान संशोधन आवश्यक भएको उल्लेख गर्दै संविधान दिवसलाई सबैले उत्सवका रूपमा मनाउनुपर्ने धारणा राखे ।















