हेटौंडा । नक्कली सुनलाई सक्कली सुन भनी ठगी गर्ने प्रयासमा संलग्न चार जना व्यक्तिलाई हेटौंडाबाट चार जना पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा हेटौंडा उपमहानगरपालिका–११ सुकुम्बासी टोल, त्रिवेणीचोकस्थित भाडाको कोठामा बस्दै आहेएका चार जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
पक्राउ पर्नेहरूमा मकवानपुरगढी गाउँपालिका–२ का ३४ वर्षीय किशोर लामा गोले, बकैया गाउँपालिका–८ का ४५ वर्षीय सूर्यबहादुर नेगी, सोही गाउँपालिका वडा नं.७ का ४४ वर्षीय सेते लाल गोङवा र नुवाकोट किस्पाङ गाउँपालिका–१ भाल्चे बस्ने ४८ वर्षीय नाम्केल तामाङ रहेका छन् ।
प्रहरीले खानतलासी गर्दा उनीहरूको झोलामा पीएमपि लेखिएको सुन जस्तो देखिने ५० थान पहेँलो धातु फेला पारेको थियो । परीक्षणका लागि मकवानपुर सुनचाँदी व्यवसायी संघलाई पठाइएकोमा तीमध्ये ४९ थान नक्कली र १ थान ९१० ग्राम तौल भएको १ लाख ६७ हजार ६ सय ९५ रुपैयाँ बराबरको सक्कली सुन रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।
बरामद भएको वास्तविक सुनलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया (बारा) पठाइएको छ भने बाँकी ४९ थान नक्कली धातु प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका चार जनाविरुद्ध ठगी उद्योग कसुर मुद्दामा मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमती लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

















