हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी बजारमा परिक्रमा गराउने मनाउन लागिइएको हो ।
यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रही आएको छ । उक्त पर्व मनाउन बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक विदा दिएको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार सूचना प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको अवस्थामा आज प्रदेशभर यस पर्व मनाउन सार्वजनिक विदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले जानकारी दिइन्।
यस पर्व विशेष गरी नेवार समुदायले मनाउने गरिन्छ । नेवार समुदायको मौलिक संस्कृति झल्किने यो पर्व प्रदेशको सांस्कृतिक विविधता र समावेशीपनको परिचायक मानिन्छ। यही महत्त्वका कारण प्रदेश सरकारले यस वर्षदेखि गाईजात्रालाई सार्वजनिक विदा सूचीमा राखेको हो । यसअघि गाईजात्राको दिन काठमाडौं उपत्यकाभित्र मात्र स्थानीय विदा दिइने गरिएको थियो ।

















