हेटौँडा । हेटौंडा उपमहानगरपालिका–१० स्थित कर्रामा निर्माण गरिएको गुम्बाको उद्घाटन गरिएको छ । कर्रामा रहेको सुखवती भुवन टासी जम्बुलिङ गुम्बा परिसरमा निर्माण भएको गुम्बाको उद्घाटन गरिएको हो ।
विभिन्न दाताको सहयोगमा ४ वर्ष लगाएर निर्माण गरिएको गुम्बाको शनिबार एक कार्यक्रमबीच हेटौँडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन् । सो क्रममा बोल्दै प्रमुख अतिथि लामाले लामो समयदेखि ओझेलमा परेको यो क्षेत्रको विकासमा सबैको हातेमालो आवश्यक रहेको धारणा राखिन् ।
करिब ३४ बर्ष अघिबाट गुम्बा क्षेत्रको रुपमा विकास हुन लागेको कर्राको यो भेगले सोचे अनुरुप विकासको गति नलिएको उनको भनाई थियो । बजार क्षेत्रमा रहेपनि उपल्लो तहमा पहुँच अभावका कारण ओझेलमा परेकोले अब उपमहानगरले यस क्षेत्रको विकासको गतिलाई अघि बढाउने लामाले प्रतिबद्धता जनाइन् । उनले गुम्बाको पूर्वाधार विकासका लागि पालिकाले सहयोग गर्ने बताइन् ।
कर्रा पुलको दक्षिण भागबाट गुम्बा जाने बाटोलाई व्यवस्थित बनाउने काममा उपमहानगरको सहयोग हुने मेयर लामाको प्रतिबद्धता थियो । उनले सडकलाई व्यवस्थित बनाएपछि अन्य विकासको काम अघि बड्ने विश्वास व्यक्त गरिन् ।
२०७८ सालमा हेटौंडा उपमहानगरपालिकाको ९ र १० नम्बर वडा कार्यालयको गरी ३४ लाख रुपैयाँ बजेटमा गुम्बा निर्माणको काम सुरु भएको व्यवस्थापन समितिले जनाएको छ । गुम्बा निर्माणमा सहयोग पुर्याएको भन्दै कार्यक्रममा उपमहानगरको ९ र १० नम्बर वडालाई सम्मान पत्र प्रदान गरिएको थियो ।
समितिका अनुसार स्थानीय निकाय बाहेक बिभिन्न क्षेत्रका व्यक्तिहरुले पनि गुम्बा निर्माणमा आर्थिक तथा अन्य सामग्री सहयोग गरेका छन् । भवन तयार भएपनि गुम्बामा हुनुपर्ने अन्य कामहरु बा“की रहेको स्थानीयले बताएका छन् ।
कार्यक्रममा हेटौंडा–१० नम्बर वडाका अध्यक्ष फुर्वा दोर्जे लामा, वडा सदस्य बिमल लामा, गुम्बा समितिका संरक्षक किताब सिंह लामा, र्याङला गुठी समाजका अध्यक्ष सानुकुमार लामा लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम सुखवती भुवन टासी जम्बुलिङ गुम्बाका अध्यक्ष अमर लामाको अध्यक्षतामा भएको हो ।

















