हेटौँडा । नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्र बानियाँ बागमती प्रदेशको छैठौं मुख्यमन्त्री बनेका छन् । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले संविधानको धारा १६८ (२) अनुसार मंगलबार बानियाँलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।
बानियाँले हिजो सोमबार कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदको समर्थनसहित मुख्यमन्त्री पदमा दाबी पेश गरेका थिए । प्रदेश प्रमुख देवकोटाले आज मंगलबार दिउँसो २ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि सोमबार आह्वान गरेका थिए ।
बानियाँले आजै ४ बजे प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण गर्नुका साथै मन्त्रीपरिषदलाई पूर्णता समेत दिने तयारी गरेको कांग्रेसले जनाएको छ । यसअघि नुवाकोटका बहादुर सिंह लामा बागमतीको पाँचौं मुख्यमन्त्री बनेका थिए । उनी पनि कांग्रेसबाटै मुख्यमन्त्री बनेका थिए ।
प्रतिकृया दिनुहोस्

















