बागमती प्रदेशका ६४ स्थानमा १२० सीसीटीभी क्यामेरा जडान, कानुन मन्त्रीद्वारा उद्घाटन

हेटौँडा । बागमती प्रदेशका १० जिल्लाका ६४ स्थानमा १२० वटा सीसीटीभी क्यामेरा जडान गरिएको छ । सार्वजनिक सुरक्षा मजबुत पार्दै अपराध नियन्त्रणमा प्रविधिको प्रभावकारी प्रयोग गर्न प्रदेशको विभिन्न स्थानमा सीसीटीभी क्यामेरा जडान गरिएको हो ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा सीसीटीभी क्यामेरा जडान गरिएको हो । उक्त ‘सीसीटीभी निगरानी प्रणाली’ को औपचारिक उद्घाटन मंगलबार हेटौँडामा आयोजित विशेष समारोहबीच गरिएको हो ।

समारोहमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले ‘सीसीटीभी निगरानी प्रणाली’ को औपचारिक उद्घाटन गरेका हुन् । सो क्रममा बोल्दै मन्त्री लामिछानेले प्रविधिको प्रयोगमार्फत् सार्वजनिक सुरक्षालाई थप सुदृढ बनाउने बताए ।

चितवनको नारायणगढ, सिन्धुलीको भिमान, मकवानपुरको रातमाटे लगायतका स्थानमा अत्याधुनिक बिएलएच क्यामेरा तथा रडार प्रणाली जडान गरिएको छ । जडान गरिएका क्यामेराहरू ३८ वटा प्रहरी युनिटमार्फत् नियमित निगरानीमा रहने प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

वरिष्ठ प्रहरी उपरीक्षक सञ्जय सिंह थापाका अनुसार, यो प्रणाली ट्राफिक व्यवस्थापन तथा अपराध नियन्त्रणमा महत्वपूर्ण सहयोगी हुनेछ । प्रणालीमा कम्तीमा ९० दिनको डेटा सुरक्षित रुपमा भण्डारण गर्न मिल्ने सुविधा रहेको छ ।

साथै, विद्युत अवरोधको अवस्थामा पनि निगरानी प्रक्रिया नरोकिने गरी युपिएस प्रणालीसमेत जडान गरिएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.