बागमती प्रदेश सभाको बैठक आज पनि बस्ने, बजेट पास गर्ने तयारी

हेटौँडा । बागमती प्रदेश सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक आज बिहान ११ बजे बागमती प्रदेश सभा सचिवालयको कार्यालय हेटौँडामा बस्ने गरी आह्वान गरिएको हो ।

आजको बैठकले बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको २०८२–०८३ को बजेट पारित गर्ने तयारी गरिएको छ ।

बैठकमा मन्त्रालयगत छलफल, मन्त्रीहरूको जवाफसहित खर्च कटौतीको प्रस्ताव माथि निर्णय गरेर बजेट पास गर्ने तयारी गरेको सभामुख भुवन कुमार पाठकले जानकारी दिए ।

हिजो शनिबार साँझ बसेको प्रदेशसभा बैठकमा बजेटको पूरक प्रस्ताव र विनियोजन विधेयक पेस गरी छलफल गरिएको थियो । छलफल पश्चात् सभामुख पाठकले खर्च कटौतीको प्रस्ताव माग गरेर प्रदेशसभा बैठक आजसम्मका लागि स्थगित गरिएको हो ।

बागमती प्रदेश सभाको असार १ गते बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री कुन्दराज काफ्लेले प्रदेश सरकारको तर्फबाट प्रदेश सभामा बजेट प्रस्तुत गरेका थिए ।

बजेटमा चालु खर्चका लागि २६ अर्ब ४ करोड ४६ लाख रुपैयाँ र पूँजीगत खर्चका लागि ४१ अर्ब ४३ करोड २६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.