हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ डाइभरडाँडामा आज दिउँसो सवारी दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
बिरगंजबाट हेटौँडातर्फ आउँदै गरेको यात्रुबाहक बसको ब्रेक फेल हुँदा कार, ट्याङ्करलाई ठक्कर दिँदा दुर्घटना भएको र उक्त दुर्घटनामा परेर १० जना घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
उनका अनुसार, ना ५ ख २९७० नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको अन्टेस्ट कारलाई ठक्कर दिएको थियो भने त्यसपछि सोही बसले अगाडि गइरहेको ना ८ ख ४४० नम्बरको ट्याङ्करलाई पनि पछाडिबाट ठक्कर दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
दुर्घटनापछि बस झन्डै १०० मिटर अघि रुखमा ठोक्किएर रोकिएको थियो। ट्याङ्करको पछाडिको भागमा सामान्य क्षति पुगेको छ।
घटनापछि तत्कालै प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले उद्धार गरी बसमा सवार ४ जना र कारमा सवार ६ जना गरी १० जना घाइतेलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको मकवानपुरका प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिए।
घाइतेमध्ये ६ जनाको अवस्था मध्यम र ४ जनाको अवस्था सामान्य रहेको जनाइएको छ। दुर्घटनास्थल रातोमाटे प्रहरी चौकीबाट करिब १ किलोमिटर दक्षिणमा पर्छ।
प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

















