किसानहरुको बक्यौक्ता भुक्तानी रकम उपलब्ध गराउन मन्त्रालय प्रयासरत् छ: कृषि मन्त्री अधिकारी

हेटौँडा । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले किसानहरुको बक्यौक्ता भुक्तानी रकम उपलब्ध गराउन मन्त्रालय प्रयासरत् रहेको बताएका छन् ।

आज आइतबार विश्व दुग्ध दिवस २०२५ को अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डद्वारा बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।

‘‘दुधको खपत बढाऔं, अर्थतन्त्रलाई सबल बनाऔं’’ भन्ने मूल नाराका आयोजित कार्यक्रममा मन्त्री अधिकारीले दूधजन्य पदार्थहरु बाह्य बिक्रीका लागि प्रयास भइरहेको जानकारी गराउँदै कृषकहरुलाई आत्मनिर्भर बनाउनतर्फ आफ्नो मन्त्रालयले काम गरिरहेको बताए ।

साथै उनले सरकारी मातहतका दुग्ध विकास संस्थान (डीडीसी) ले भुक्तानी गर्न बाँकी रहेको रकम चालु आर्थिक वर्षको असार मसान्तभित्र भुक्तान गर्न पनि डीडीसीलाई निर्देशन दिइसकेको बताए ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादवको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमतीका सचिव  डा. वैकुण्ठ अधिकारी, पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारी, प्रदेश दुग्ध विकास बोर्ड बागमतीका उपाध्यक्ष हरिप्रसाद पौडेल, प्रदेश सरकारी विकास बोर्ड बागमतीका उपाध्यक्ष नारायण देवकोटा, केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अम्वर बहादुर कुवरलगायत विभिन्न डेरी एसोसियस, डेरी उद्योग, जिल्ला दुग्ध सरकारी संघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा उत्कृष्ट दुग्ध कृषकतर्फ रुपन्देहीका यज्ञमूर्ति खनाल, सकारी संस्थातर्फ तनहुँका दुम्सी दुग्ध उत्पादक सहकारी संस्था, मा भगवती पशुपालन तथा दुग्ध उत्पादन सहकारी संस्था, चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघलाई सम्मान गरिएको छ ।

यसैगरी, दुग्ध उद्योगतर्फ, पूर्व नेपाल कृषि तथा दुग्ध विकास केन्द्र प्रा।लि। झापाका हेमचन्द्र खनाल, राम प्रसाद त्यात मोर्डन डेरी इण्डष्ट्रिज प्रा.लि. भक्तपुर, चिजतर्फ अनमोल डेरी इलामका गोबिन्द खड्का, कृषि पत्रकारतर्फ टक्सार म्यागजिनका रबि थापा, मोही अभिायनतर्फ नेपाल डेरी एशोसिएशनलाई सम्मान गरिएको थियो ।

यस्तै, मदन मोहन दासलाई विशेष सम्मान गरिएको भने मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघलाई प्रशंसापत्र दिइएको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.