मकवानपुरमा बस दुर्घटना : ५ जना घाइते, चालकको अवस्था गम्भीर

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका-७ रमनटारस्थित पूर्व-पश्चिम सडकखण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार राति करिब ११:०५ बजे वीरगञ्जबाट लमजुङतर्फ जाँदै गरेको ना ५ ख ५३१९ नम्बरको बस अचानक स्टेरिङको टाइरट फुट्दा अनियन्त्रित भई सडकको दाहिने किनारमा कोल्टो परेर दुर्घटना भएको हो।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले स्थानीयसँग समन्वय गरी उद्धार कार्य गरेको थियो। बसमा सवार १६ यात्रुमध्ये ५ जना घाइते भएका छन्।

उनीहरूलाई प्राथमिक उपचारका लागि मनहरी अस्पताल लगिएकोमा थप उपचारका लागि चितवनस्थित सीएमसी अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ। घाइतेमध्ये बस चालक सर्लाही निवासी ३९ वर्षीय भीमबहादुर बिकको टाउकोमा गम्भीर चोट लागेको छ।

यस्तै, चितवन भरतपुर महानगरपालिका-४ निवासी ३० वर्षीय संजय तामाङ, पर्सा परवानीपुर नगरपालिका-२३ निवासी ५४ वर्षीय मोहम्मद आजाद, बारा देवताल गाउँपालिका-१ निवासी २३ वर्षीय राजकुमार राम र भारतको मोतिहारी निवासी २५ वर्षीय सुदिर कुमार घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ।

प्रहरीका अनुसार दुर्घटनापछि बसलाई सडकबाट हटाई साइडमा पार्किङ गरिएको र सडक सञ्चालन सामान्य रहेको छ। अन्य यात्रुलाई गन्तव्यतर्फ पठाइसकिएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.