बागमती पुलबाट टेलर खोलामा खस्यो, चालकको मृत्यु

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवास्थित कान्तिलोकपथ सडकखण्ड अन्तर्गत मकवानपुर र ललितपुर जोड्ने बागमती पुलबाट टेलर गाडी खोलामा खस्दा चालकको मृत्यु भएको छ।

आइतबार साँझ करिब ६:२० बजे हेटौंडाबाट बगुवा तर्फ जाँदै गरेको ना ६ ख ४०४२ नम्बरको बागमती हाइड्रोपावरको फलामको पाइप बोकेको टेलर गाडी अनियन्त्रित भई पुलबाट तल बागमती खोलामा खसेको थियो । पाइप बाँधिएको टुचिन चुडिएपछि गाडी अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

दुर्घटनामा टेलर चालक हेटौंडा उपमहानगरपालिका–३ का अन्दाजी ३० वर्षीय दलबहादुर बर्तौला बेपत्ता भएका थिए भने सहचालक राक्सिराङ गाउँपालिका–९ का १७ वर्षीय प्रशन्न प्रजा सकुशल रहेका छन्। दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी नायब निरीक्षक प्रमोद साह तेलीको कमाण्डमा ट्राफिकसहितको टोली घटनास्थल पुगेको थियो।

यस्तै, नेपाली सेनाको फास्ट ट्र्याक सुरक्षा बेसबाट जमदार माधवप्रसाद घिमिरेको नेतृत्वमा खटिएको टोलीले उद्धार कार्य सञ्चालन गरेको थियो। राति करिब ८:२० बजे क्रेनको सहायताले टेलरलाई खोलाबाट बाहिर निकालिएको र चालक बर्तौला गाडीको स्टेयरिङमै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घटनास्थल मुचुल्का तथा थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.