हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोला पुल नजिक भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा बोलेरो पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
आज विहान १ बजेको समयमा सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको म.प्र.०३–००१ च ६७२१ नम्बरको कुखुरा लोड बोलेरो पिकअप गाडी ब्रेक फेल भई अनियन्त्रित भएर सडकबाट करिब ५–७ मिटर तल खोल्सामा खसेर दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी खानिखेत मकवानपुरबाट पहरी सहायक निरीक्षक मनोज चौधरीको कमाण्डमा ट्राफिकसहित ३ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो । टोली करिब १ः३० बजे घटनास्थलमा पुगेर उद्धार कार्य गरेको थियो ।
दुर्घटनामा सवार तीन जनामध्ये सहचालक सर्लाही वरथवा नगरपालिका–१ निवासी अन्दाजी १७ वर्षीय रोहन मण्डल गम्भीर घाइते भएका थिए । उनको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । अर्का सहचालक सोही स्थानका १६ वर्षीय छोटे पासवानको कम्मरमा चोट लागेको छ भने चालक २५ वर्षीय रामवली साह सामान्य घाइते भएका छन्।
तीनै जनालाई उद्धार गरी एम्बुलेन्समार्फत् उपचारका लागि काठमाडौँ पठाइएकोमा गम्भीर घाइते रोहन मण्डलको उपचारका क्रममा आज बिहान ४ः४५ बजे काठमाडौँ मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा बोलेरो गाडीमा लोड गरिएका करिब ५०० कुखुरामध्ये ३०० वटा कुखुरा मरेका छन्। गाडीमा समेत क्षति पुगेको छ र दुर्घटनास्थलमै रहेको छ । साथै प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

















