मनहरीमा ग्यास बुलेटको ठक्करबाट स्कुटर चालकको मृत्यु, श्रीमती गम्भिर घाइते

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–७ लच्का नजिकै भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

सोमबार (आज) बिहान करिब ९:२५ बजे चितवनबाट मनहरीतर्फ आउँदै गरेको बा.प्र.२–०५७ प ३२३० नं.को स्कुटरलाई सोही दिशा तर्फ गइरहेको NL01N0280 नं.को ग्यास बुलेटले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुर जानकारी दिएको छ ।

दुर्घटनामा सिन्धुपालचोक चौतारा नगरपालिका–५ का ३० वर्षीय केदार श्रेष्ठ गम्भिर घाइते भएका थिए। उनलाई उपचारका लागि हेटौडा अस्पताल पुर्याइए पनि डाक्टरले बिहान १०:५५ बजे मृत घोषणा गरेका छन्।

स्कुटर पछाडि सवार उनकी श्रीमती २८ वर्षीया सरस्वती श्रेष्ठलाई गम्भिर चोट लागेको र अहिले चितवनस्थित एलाईभ अस्पतालमा उपचाररत रहेको प्रहरीले जनाएको छ। उनीसँगै सवार रहेका २ वर्षका छोरा प्रविन श्रेष्ठ पनि सामान्य चोटपटकसहित आमासँगै अस्पतालमा रहेका छन्।

ठक्कर दिने ग्यास बुलेटका चालक भारत, बिहारका ५५ वर्षीय मोहमद मतिनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनापछि उक्त सडक खण्डमा यातायात अवरुद्ध नभएको र घटना स्थल इलाका प्रहरी कार्यालय मनहरीबाट करिब ४ किलोमिटर पश्चिमतर्फ रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनाको विस्तृत विवरण र कारणबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.