हेटौँडा । हेटौँडा–काठमाडौँ जोड्ने त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदीमा यात्रुवाहक भ्यान दुर्घटना भएको छ । मंगलबार दिउँसो १ बजेको समयमा भीमफेदी गाउँपालिका–९, छैसठ्ठी मोडमा यात्रुवाहक विङ्गर गाडी दुर्घटना भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, चित्लाङबाट सर्लाहीको लालबन्दी जानको लागि हेटौँडा आउँदै गरेको प्रदेश २–०३–००१ ज ०१४७ नम्बरको विङ्गर गाडी ब्रेक फेल भएर सडकबाट २० मिटर तल खसेको थियो ।
उक्त दुर्घटनामा परेर १४ जना घाइते भएका छन् । दुर्घटनामा परेर ३ जना गम्भिर घाइते, ८ जना मध्यम र ३ जना सामान्य घाइते भएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।
दुर्घटनामा परेर घाइते भएकामध्ये सर्लाहीको लालबन्दी नगरपालिका–१५, परमानीपुरकी २८ वर्षीया अम्बरी लो लामा, लालबन्दी–१६ परमानीपुर भोलोनाका ३६ वर्षीय रितिक राई, ४५ वर्षीय पदम बहादुर श्रेष्ठ, ५१ वर्षीय राजाराम बस्नेत, ३० वर्षीया शान्ता विक र लालबन्दी–१ नवलपुरका ५६ वर्षीय कमल थापालाई उपचारको लागि मकवानपुर सहकारी अस्पताल लगिएको उनले बताए ।
यस्तै, लालबन्दी नगरपालिका–४, का सरोज कुमार चौधरी, लालबन्दी नगरपालिका–१५, का २७ वर्षीया निर्मला विक, २२ वर्षीया निलिमा खड्का, २२ वर्षीया सिमा घलान, लालबन्दी नगरपालिका–५, का ५० वर्षीया समिर सुवेदी, लालबन्दी–१६ की २७ कि कल्पना विक, २५ वर्षीया सुस्मा विक र ३२ वर्षीया पवित्रा घिसिङलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

















