मकवानपुर । मकवानपुरमा आज बिहानै बस दुर्घटना भएको छ । पूर्व–पश्चिम सडकखण्ड अन्र्तगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६, स्थित सुनाचुरीमा लु.२ ख ५९९ नम्वरको बस सडकबाट अन्दाजी १० मिटर तल खसेर दुर्घटना भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, बिहान ४ बजेर ५० मिनेटको समयमा इटहरीबाट भैरहवातर्फ जाँदै गरेको उक्त बस दुर्घटना भएको हो । बस दुर्घटनामा परेर कम्तिमा १६ जना घाइते भएका छन् । घाइतेहरुलाई उद्दार गरी उपचारको लागी चितवन तर्फ पठाइएको छ ।
दुर्घटनाबारे खबर प्राप्त भएसँगै प्रहरी चौकी सुनाचुरी र इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घाइतेहरुको अवस्था मध्यम रहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए । प्रहरीले बस चालक बाराको कोल्बि नगरपालिका वडा नम्वर ११ बस्ने अन्दाजी २९ वर्षीय राकेश चौधरीलाई नियन्त्रणमा लिएको छ ।
स्टेरिङ लक भएको कारणले काट्न खोज्ने बेला नकाटिएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । हाल दुर्घटनाका कारण बाटो अवरोध नभएको, सवारी साधन घटनास्थलमै रहेको र उक्त दुर्घटना स्थान प्रहरी चौकी सुनाचुरीबाट अन्दाजी ५०० मिटर पश्चिममा पर्ने जनाइएको छ ।

















